


वीरगञ्ज, ९ साउन। पर्सा प्रहरीले डाँका तथा चोरी सम्बन्धी कसुर मुद्दामा अदालतबाट ५ वर्ष कैद र रु. ५० हजार जरिवाना सजाय तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, विशेष सूचनाका आधारमा अदालतको फैसला कार्यान्वयन टोलीले वीरगञ्ज महानगरपालिका–१९ बिन्दवासिनीस्थित सडकखण्डबाट वीरगञ्ज महानगरपालिका–३० निवासी २८ वर्षीय आकाश यादवलाई पक्राउ गरेको हो।

उनीविरुद्ध डाँका तथा चोरी सम्बन्धी कसुर मुद्दामा पर्सा जिल्ला अदालतले २०८१ चैत २२ गते ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। फैसला कार्यान्वयनका लागि फरार रहेका यादवलाई नियन्त्रणमा लिएर थप कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

