


भैरहवा, ११ चैत। रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट फेरी लागुऔषध गाँजा बरामद भएको छ। साथै, विमानस्थल प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको केरलाका ३५ वर्षीय रथिस कुमार चम्बुकारा गान्धी रहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी प्रवक्ता एंव एसपी दीपक श्रेष्ठले जानकारी दिए।

विमानस्थल प्रहरीले यसअघि पनि गत चैत ४ गते एयर एशियाको विमानमा आएको भारतीय नागरिकको साथबाट साढे सात किलो गाँजा बरामद गरेको थियो।
सोमबार दिउँसो थाइल्याण्डको बैंककबाट भैरहवा आएको एयर एशियाको विमानमा गान्धीले लगेजमा लुकाएर ल्याएको ११ किलो २ सय ग्राम गाँजा चेकजाँचको क्रममा बरामद भएको उनले बताए।
बरामद गाँजा १२ थान प्याकेटमा प्याक गरेर ल्याइएको थियो। गाँजासहित पक्राउ परेको भारतीय नागरिकलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाईएको विमानस्थल प्रहरीले जनाएको छ।

