


भैरहवा, १३ चैत। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमता संचालन हुने बताएका छन्।
कान्तिपुर मिडिया ग्रुपले भैरहवामा आयोजना गरेको ‘लुम्बिनीको सामथ्र्य’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वका अधिकांश नवनिर्मित विमानस्थलहरु पनि निर्माणलग्त्तै पूर्णक्षमता संचालन नहुने गरेको भन्दै क्रमशः अवस्था अनुसार पूर्ण क्षमतामा संचालन हुने गरेकोले भैरहवा विमानस्थलमा पनि भविष्यमा पूर्ण क्षमतामा संचालन हुने बताए।

‘विमानस्थल बन्ने बेलामा बन्दैन कि भन्ने आशंका थियो त्यो बन्दैन कि भन्ने आशंकालाई चिरेर हामीले बनायौं। अब प्रश्न छ यो चल्छ कि चल्दैन’,उनले भने,‘संसारका सबै नयाँ विमानस्थलहरुको बन्न बित्तिकै ‘फुल फेल्जेड’ रुपमा चलेका कमै अनुभव छन्। यो विमानस्थल चलाउनका निम्ति सशक्त पहलकदमी लिएका छौं। छिट्टै पूर्ण क्षमतामा संचालन हुन्छ।’
उनले पछिल्लो दिनमा प्रधानमन्त्री केपी ओलीको अग्रसरतामा सबै सम्बद्ध निकायहरुबीचमा अनेकौं पटक बसेको बैठकमा विमानस्थल पूर्ण क्षमतामा संचालनका लागि महत्वपूर्ण निर्णयहरु भएको सुनाए।
उनले विभिन्न अन्तर्राष्ट्रय विमान कम्पनीहरुसँग छलफल भइरहेको भन्दै विमानस्थलबाट सेवा प्रदान गर्ने विमान कम्पनीहरुका लागि विशेष छुट सुविधाको प्याकेज ल्याइने बताए।

