


भैरहवा, १४ चैत। गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प निरंकुशता हुन नसक्ने बताएका छन्। नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३ रुपन्देहीले आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले समाज पछाडी नफर्किने भएकोले मुलुक निरंकुशतातर्फ जान नसक्नेमा आफु प्रष्ट रहेको बताए।
‘जनता लोकतन्त्रको मार्गमा अगाडी बढिसकेका छन् र अगाडी बढेको समाज पछाडी फर्किदैन’, उनले भने,‘लोकतन्त्रमा सरकार परिवर्तन हुने कुरा हुन्छ । तर, लोकतान्त्रिक मूल्य र मान्यतामा अभ्यस्त भइसकेको समाज निरंकुशतातर्फ जाला भन्ने मलाई लाग्दैन।’

उनले केही कमी कमजोरीका कारण नागरिकको चिन्ता र पीडालाई आक्रोशमा बदलेर व्यवस्थाकै विरुद्धमा प्रयोग गर्ने प्रयत्न भइरहेको रहेको बताए। नागरिकको पीडा र समस्याको समाधन निरंकुशता नभई लोकतन्त्रमार्फत नै हुने भएकोले वर्तमान व्यवस्थाको पक्षमा उभिन आवश्यक रहेको उनको भनाई छ।
कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीका सभापति सुशील गुरुङको सभापतित्व, उपसभापति सुरेन्द्रजंग थापाको स्वागत तथा क्षेत्रीय सचिव एवं प्रवक्ता लेखनाथ भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

