


काठमाडौं, १४ चैत। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्र पुनःस्थापित नहुने बताएका छन्।
बिहीवार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको मानवअधिकार विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला लगायतका नेपालीले लडेर लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको भन्दै अब यो व्यवस्था हट्न नसक्ने दाबी गरे।

उनले सम्पूर्ण नेपाली जनताले संविधानसभामार्फत जनताको इच्छानुसार गणतन्त्र आएको भन्दै कसैले रहर नगर्न आग्रह गरे। उनले नेपाली जनताले गणतन्त्र मानिसकेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजतन्त्र फर्किने आश नगर्न आग्रह गरे।
सभापति देउवाले नेपालको संविधानमा सबैको प्रतिनिधित्व रहेको भन्दै संविधान प्रदत्त अधिकारहरुमा पनि सबैलाई सहभागी गराइएको बताए।

