
दाङ, २० चैत। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहकारी संस्थाहरु उत्पादनमा नजोडिँदासम्म प्रदेशले समृद्धिको लक्ष्य पूरा गर्न नसक्ने बताएका छन् ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा लुम्बिनी प्रदेशका उत्कृष्ट सहकारी संस्थाहरुलाई पुरस्कार प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय उत्पादन बढाउन सहकारी संस्थाहरु अनिवार्य रुपमा जोडिनुपर्ने बताएका हुन् ।
‘जुन लक्ष्य र उद्देश्य बोकेर सहकारीहरु निर्माण भएका छन्। जसरी उत्पादनसँग जोडिनुपथ्र्यो। त्यसरी नजोडिएको देखेको छु’उनले भने– ‘सहकारी संस्थाको माध्यमबाट स्थानीय उत्पादन बढाउन सकिन्छ । किसानको उत्पादन बजारसम्म पुर्याउन सकिन्छ। आयआर्जन बढाउन सकिन्छ। किसानको जीवनस्तरमाथि उठाउन सकिन्छ।’
Advertisement

Advertisement
Advertisement

सबै सहकारी संस्था उत्पादनसँग जोडिनुपर्नेमा उनको जोड छ। समाजवादको आधारशिला सहकारी भएको र प्रदेश सरकारले सहकारी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए। पछिल्लो समय सहकारीहरु आफ्ना लक्ष्य, उद्देश्यभन्दा बाहिर गएर काम गर्दा समस्या उत्पन्न भएको र त्यसलाई ट्रयाकमा ल्याउने काम सरकारले गरिरहेको उनले जानकारी दिए ।
‘नियतबस खोलिएका सहकारीका कारण अत्यन्त राम्रो काम गरेका सहकारीहरुप्रति पनि मान्छेहरुले औंला ठड्याउने परिस्थिति निर्माण भएको छ। तर, राम्रो काम गर्ने सहकारी अभियन्ताहरु बिचलित हुने अवस्था आउन दिने छैनौं’,उनले भने–‘नकारात्मक काम गर्ने, उपभोक्ताको रकम अपचलन गर्ने त्यस्ता सहकारीलाई निरुत्साहित गर्ने, कानूनी दायरामा ल्याउने काम भइरहेका छन्।’ राम्रो काम गरेका सहकारी संस्थालाई प्रोत्साहन गर्ने सरकारले नीति लिएको उनले बताए । सहकारी अभियानलाई अझ व्यापक बनाउनुपर्नेमा उनले जोड दिए ।
प्रदेश सरकारका प्रवक्ता एवं कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट भएका चारवटा सहकारी संस्थाहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

