
सलमान खान
भैरहवा, २० चैत। मुलुक पञ्चायतकाल देखि गणतान्त्रिक व्यवस्थासम्म कोल्टो फेर्दा रुपन्देहीका नेता दीपक बोहरा सधैं नागरिकको साथमा देखिए । शासन व्यवस्था बदलिएसँगै आफुलाई पनि परिवर्तन गरेर उनी लम्किदैं गए ।
तर, कोराना संक्रमणको दोस्रो लहरमा संक्रमित भएको केही समयपछि स्वरमा परिवर्तन आयो । पोस्ट कोभिडका कारण घाँटीको समस्याले थला परेका ७४ वर्षीय बोहरा आफ्नो जन्मदिनको अघिल्लो दिन काठमाडौंमा उपचारको क्रममा अस्ताए । रुपन्देहीको क्षेत्रमा अनेक विकासका कार्य गरेका आफ्नो नेतालाई मंगलबार स्थानीयवासीहरुले श्रद्धान्जली अर्पण गर्न पर्यो ।
Advertisement

Advertisement
Advertisement

पञ्चायतदेखि बहुदल र गणतन्त्रसम्म जनप्रतिनिधिका रुपमा उनी निर्वाचित भए । ०७९ को निर्वाचनमा उनी रुपन्देही–३ बाट प्रतिनिधि सभा सदस्य थिए । नागरिकको दुःख र सुःखमा साथमा उभिएकै कारण उनलाई पञ्चायत देखि लिएर गणतन्त्रसम्म यस क्षेत्रका नागरिकले पत्याउँदै आफ्नो प्रतिनिधि बनाउँदै आए ।
मन्त्रीले सर्वसाधरणलाई भेट्न गाह्रो मान्ने अवस्थामा उनले आफै बोलाएर पिठ्यूमा धाप मार्दै सुःख, दुःखको विषयमा बुझ्ने गरेको विषय अझै मनसपाटलमा ताजा रहेको स्थानीयहरु सुनाउँछन् । स्मरण शक्ति तेज रहेकै कारण पनि बोहरा नागरिकमाझ लोकप्रिय थिए ।

बोहराले पञ्चायत देखि गर्दै आएको विकासका कार्यहरु यस क्षेत्रका पुराना पुस्ता र उनका समकक्षीहरुको सम्झनामा छ । मंगलबार बोहरालाई श्रद्धान्जली अर्पण गर्न उनको निवासमा पुगेका पुराना पुस्ता मध्येका नेपाली कांग्रेसबाट लुम्बिनी प्रदेशका सांसद देवीप्रसाद चौधरीले उनलाई सम्झिदैं भन्छन्–‘बोहराले पञ्चायतकालमा धेरै काम गर्नु भएको छ । अस्वथ्य भएको बेला काम गर्ने कुरा हुँदैन । उहाँको निधनले यस क्षेत्रलाई क्षति पुगेको छ ।’
रुपन्देहीमा भैरहवा–लुम्बिनी भूमिगत जलसिंचाइ (भैलुभूज) परियोजनाको सुरुवात गरेका बोहराको निधनले अपुरणीय क्षति पुगेका यस क्षेत्रका बासिन्दाहरु बताउँछन्। जग्गाजमिन नभएका सर्वसाधरणलाई बुटवलको दीपनगरमा बसोबासका लागि पहलकदमी भुमिका निभाएका बोहरालाई राज्यविरुद्धको मुद्दा समेत लगाईएको थियो। बुटियान क्षेत्रमा बोहराले सर्वसाधरणको बसोबास गराएकै कारण दीपनगरको नाम ‘दीपनगर’ हुन पुगेको बुटवल उपमहानगरपालिकाका पूर्वमेयर पुनाराम पोखरेल सुनाउँछन् ।
‘राज्यले दीपनगर भन्ने स्थानबाट सुकुम्बासीहरुको उठिबास गराउँदा उहाँले (स्व.दीपक बोहरा) आवाज उठाएर बसालिदिनु भएको हो’, राप्रपाका लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदय सम्झिदैं भने,‘बुटियान क्षेत्रमा सर्वसाधरणको बसोबास हुन थालेपछि त्यती बेला प्रशासनले उक्त क्षेत्रमा आगो, हात्ति लगाईदिने गरेपछि प्रशासनसँग लडेर उहाँले अन्ततः बस्ती बसाल्नु नै भयो ।’
विपक्षी दल, व्यक्तिसँग समन्वयकारी भुमिका निभाउने राजनीतिकर्मी रुपमा समेत स्थापित बोहराले ल्याएको भैलुभूज परियोजना नै रुपन्देहीको पूर्वाधारको पहिलो विकासको आधार रहेको उनको दावी छ । भैलुभूज परियोजनाकै कारण गाउँ-गाउँमा सडक पुगेको र उनको निधनले पार्टी, समाज लगायतलाई अपुरणीय क्षति पुगेको उनले बताए ।
०३८ सालमा पहिलो पटक राष्ट्रिय पञ्चायत सदस्य भएका बोहरा पर्यटन सहयाक मन्त्री बनेपछि बस्तीमा सडक, खानेपानी, विद्युत, सिंचाईदेखि शिक्षा लगायत क्षेत्रमा काम गरेको उनका राजनीतिक सहकर्मीहरु सुनाउँछन् ।
‘दलगत रुपमा के कति गर्ने सके ? सकेनन् ? त्यो आफ्नो ठाउँमा छ तर पञ्चायतकालमा बोहराले रुपन्देहीमा विकासका कार्यहरु गरेका थिए’, भैरहवा मोर्निङवाक ग्रुपका संस्थापक अध्यक्ष विजय गोविन्द श्रेष्ठले भने ‘अहिले देशका नेताहरु भागभण्डे छन् । तर, बोहरा भागभण्डे नभएर निस्वार्थी व्यक्ति थिए । उहाँको निधनले यस क्षेत्रलाई क्षति पुगेको छ ।’
श्रद्धान्जली अर्पण गर्न बोहरा निवासमा पुगेकी लुम्बिनी प्रदेशका उपसभामुख मेनुकखाँण केसीले बोहराको निधनले रुपन्देहीलाई मात्रै नभई लुम्बिनी प्रदेश, राष्ट्रलाई नै क्षति पुगेको भएको बताइन्।
राप्रपाका सांसद एवं पूर्वमन्त्री पशुपति शमशेर जबराका अनुसार राजनीतिमा झन्डै चार दशक सक्रिय बोहरा पटक–पटक गरी ८ पटक मन्त्री भएका थिए । उनको संसदीय यात्रा २०३८ सालदेखि सुरु भएको थियो । २०३८ र २०४० मा पर्यटन सहायक र पर्यटन राज्य मन्त्री बनेका थिए । २०४३ र २०४४ सालमा निर्माण तथा यातायातमन्त्री भएका थिए ।
२०५७ सालमा बैंक अफ काठमाडौंको अध्यक्षसमेत बनेका थिए । २०६७ सालमा वन तथा भूसंरक्षणमन्त्री र राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षसमेत उनी बनेका थिए । २०७० सालमा रुपन्देही क्षेत्र नम्बर २बाट संविधानसभा सदस्यमा निर्वाचित भएपछि पटक–पटक मन्त्री भए । उनी २०७२ मा श्रम तथा रोजगारमन्त्री, २०७३ सालमा आपूर्तिमन्त्री र २०७४ मा स्वास्थ्यमन्त्री बनेका थिए ।
नागरिकको बीचमा रहेर विकास गरेका बोहराको निधनसँगै राष्ट्रले कुशल राजनीतिज्ञ र रुपन्देहीले अभिभावक गुमाएको सरोकारवालाहरु बताउँछन् ।


