


काठमाडौं, २० चैत। भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले सुपरमार्केटमा लुटपाट र ढुङ्गा हानेर नेपालमा राजतन्त्र नफर्किने बताएका छन्। राजावादीहरुको प्रर्दशनको क्रममा कम्पनीको सुरक्षामा योगदान दिएका कर्मचारीहरुलाई सम्मान गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजसंस्था पुनर्स्थापना आन्दोलनका प्रमुख अगुवा दुर्गा प्रसाईँलाई ‘गुन्डा नाइके’को संज्ञा दिए।
उनले भाटभटेनीमा भएको आक्रमणको आलोचना गर्दै राजसंस्था पुनर्स्थापनाका नाममा हिंसा गरेर कुनै लक्ष्य प्राप्त नहुने धारणा राखे ।

उनले दुर्गा प्रसाईँलाई राज्यले संरक्षण दिएकाले नै अहिलेको स्थिति उत्पन्न भएको आरोप लगाए। उनले भने, ‘राज्यले एकजनालाई पुलपुल्याउँदा यस्तो अवस्था आयो। उनले चाहे अनुसार राजसंस्था फर्कने होइन। मारवाडीहरुलाई दोष दिएर देश कङ्गाल बनाउन खोज्नेहरुसँग हामी असहमत छौँ। भाटभटेनी लुटेर, ढुङ्गा हानेर संविधान मेटिँदैन। यस्तो कार्य डकैतीबाहेक केही होइन ।’

