


काठमाडौं,२१ चैत। नेपालबाट आयात हुने सामग्रीमाथी अमेरिकाले थप १० प्रतिशत कर लगाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आदेशमा दस्तखत गर्दै नेपालसहित एक सय देशमाथिको करको नयाँ दरसम्बन्धी सूची सार्वजनिक गरेका हुन्।
अमेरिकाले नयाँ करसम्बन्धी तालिका सार्वजनिक गर्दै अमेरिकी वस्तुमा लगाइँदै आएको कर र अमेरिकाले थपेको करको विवरण उल्लेख गरेको छ।

ट्रम्पले करको नयाँ दरलाई डिस्काउन्टेड रेसिप्रोकल ट्यारिफको नाम दिएका छन्। ट्रम्पले भनेको रेसिप्रोकल ट्यारिफ अनुसार अरु कयौँ देशले ठूलो मात्रामा छुट पाउँदा नेपाल जस्तो १० प्रतिशत मात्र कर लगाउने देश भने मारमा परेका छन्।
सूची अनुसार भारतले अमेरिकी सामग्री आयातमा ५२ प्रतिशत कर लगाउने गरेकोमा अमेरिकाले उसमाथि २६ प्रतिशत कर मात्र लगाएको छ। चीनले ६७ प्रतिशत कर लगाउने गरेकोमा उसमाथि ३४ प्रतिशत कर लगाइएको छ। यो आधारमा यी देशहरुले झण्डै आधा छुट पाउँदा १० प्रतिशत मात्र कर लगाउने नेपाल जस्ता देश मारमा परेका छन्।
१० प्रतिशत कर लगाइएका नेपालसहितका देशमाथिको यो कर अमेरिकी समय अनुसार ५ अप्रिल राति १२ बजेर १ मिनेटमा लागू हुनेछ। १० प्रतिशत भन्दा बढी कर ९ अप्रिलमा सुरु हुनेछ।

