


भैरहवा,२२ चैत। रुपन्देहीको भैरहवास्थित संस्कृति विद्या सन्यास आश्रमका बटुकहरुलाई सूचना प्रविधि ज्ञान प्रदान गर्न लागिएको छ।
आधुनिक शिक्षा र विश्वमा भइरहेका नविनतम जानकारी प्रदान गर्ने उद्देश्यले उनीहरुलाई सूचना प्रविधि ज्ञान प्रदान गर्न लागिएको हो।

नेपटेक ट्राइव र अमेरिकन कर्नर भैरहवाको आयोजनामा वटुकका लागि शनिवार सिद्धार्थ उद्योग वाणिज्य संघको सभाहलमा ‘आध्यात्मसँग आइटी’ कार्यक्रम सञ्चालन हुने भएको हो।
रुपन्देहीका विभिन्न स्थानमा सूचना प्रविधिबारे सचेतना र जानकारी प्रदान गर्दै आएको संस्था नेपटेक ट्राइवका अध्यक्ष प्रवीण अधिकारीले पहिलोपटक आयोजना गरिएको प्रशिक्षणमा आश्रमका बटुकलाई सूचना प्रविधिसम्बन्धि प्रारम्भिक जानकारी गराइने जानकारी दिए। यसपछि पनि क्रमशः विभिन्न चरणमा यस्ता कार्यक्रम सञ्चालन गरिने उनको भनाई छ। आश्रममा ४८ बटुक अध्ययनरत छन् ।
आश्रमका प्राचार्य घनश्याम भट्टराईले बटुकलाई आश्रमभित्र सूचना प्रविधिसित घुलमिल हुन रोक लगाएपनि यस्ता प्रशिक्षणले उनीहरुलाई विश्वमा सूचना प्रविधिका क्षेत्रमा भइरहेको परिवर्तनबारे बुझन र ज्ञानको दायरा बढाउन मद्दत पुग्ने बताए। ‘हाम्रा विद्यार्थी संस्कृतमा जानकार भएपनि बाहिरी प्रविधिमा पहुँच हुँदैन’,उनले भने, ‘१०÷१२ कक्षासम्म वटुलाई प्रविधिसँग घुलमिल हुन दिदैनौं ।’
नेपटेक ट्राइव संस्थाका सचिव सुधीर आर्यालले प्रशिक्षणका क्रममा सूचना प्रविधि, साइबर सुरक्षाका वर्तमान प्रविधि र डिजिटल माध्यामको सहयोगबाट परम्परागत, धार्मिक र अध्यात्मिक अभ्यासलाई प्रभावकारी बनाउन सकिने विषयमा जानकारी गराइने बताए।
‘विशेषज्ञ, धार्मिक, आध्यात्मिक गुरु, विद्यार्थी र प्रविधिमा रुची राख्नेहरुबीच अन्तरक्रिया हुनेछ,’उनले भने,‘साथै साइबर अवधारणा, डिजिटल सञ्चार नैतिकता, प्रविधि र अध्यात्मिक अभ्यासको भविष्यबारे बहस पनि गरिने छ ।’

