
भैरहवा,२६ चैत। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले उडान नभर्दा स्थानीयहरु असन्तुष्ट भएका छन् ।
विमानस्थलबाट थाइल्याण्डको थाई एयर एशिया, यूएईको फ्लाई दुबई र कुवेतको जजिरा एयरेवजले नियमित उडान गर्दै आएको गत एप्रिल १ तारिख देखि उडान सेवा बन्द गरेका छन् । नेपाल एयरलाईन्सले हप्तामा मलेसिया (क्वालालम्पुर)–भैरहवा–काठमाडौं सेवा दिदैं आएको विमानस्थल कार्यालयले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले नियमित उडानका लागि ‘समर सेड्युल’ को स्विकृती नलिदाँ उडानहरु नभएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए ।
‘वायुसेवा कम्पनीहरुले नियमित उडानका लागि ‘समर सेड्युल’ पेश गरेर नागरिक उड्डयन प्राधिकरणबाट स्विकृती लिनु पर्नेमा अहिलेसम्म लिएका छैनन्’, उनले क्लिक लुम्बिनीसँग भने,‘उडान स्थगित गरेका वायुसेवा कम्पनीहरुसँग सकारात्मक छलफल भइरहेको जानकारी प्राप्त भएको छ । नआएसम्म केही भन्न सकिदैन ।’
यस क्षेत्रका उद्योगी व्यवसायीहरुले प्राधिकरणका महानिर्देशक (डिजी) प्रदीप अधिकारीका कारण विमानस्थल संचालनले निरन्तरता पाउन नसकेको भन्दै कारवाहीको माग गरेका छन् ।
‘महानिर्देशक प्रदीप अधिकारीले पटक पटक दिएको नकारात्मक र आपत्तिजनक अभिव्यक्तिले गर्दा विमानस्थल संचालनले निरन्तरता पाउन सकेको छैन’, सिद्धार्थ संजाल रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले भने,‘अधिकारीलाई कारवाही गरेर सरकारले नियमित उडान सुचारु गराउनुपर्छ ।’ संजालले विज्ञप्ति जारी गर्दै नियमित उडान नभए आन्दोलनमा जाने चेतवानी दिएको छ ।
साथै, सिद्धार्थ उद्योग वाणिज्य संघले पनि विभिन्न अन्तरक्रिया कार्यक्रममा मन्त्री लगायतहरुले अन्तर्राष्ट्रिय उडान नरोकिने प्रतिवद्धता जनाएपनि नेपाल एयरलाइन्स बाहेक अन्य सबैले उडान स्थगित गरेकोमा ध्यानार्कषण भएको जनाएको छ ।
पटक पटक ताकेता गर्दा पनि उडान स्थगित भएकोमा आपत्ति जनाउँदै उडान सुचारु नभए कडा कदम चाल्ने बाध्य हुने जनाएको छ । अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले उडान नगर्दा यस क्षेत्रमा लगानी भएको अर्बौ रुपैयाँ जोखिममा परेको उद्योगी व्यवसायीहरुको भनाई छ ।
यस्तै लुम्बिनी प्रदेशका नेपाल उद्योग वाणिज्य संघ, नेपाल चेम्बर अफ कर्मस, उद्योग परिसंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघले पनि विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान कटौती भएकोमा संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका छन् ।
जारी विज्ञप्ती प्रश्न गर्दै भनिएको छ ‘कुन अदृष्य शक्तिले यस क्षेत्रको समृद्धिको आधारको रुपमा स्थापना भएको विमानस्थल सञ्चालनमा अवरोध सिर्जना गरिरहेको छ ?
विमानस्थल सञ्चालनका लागि तदारुकता देखाएको भने पनि सरकारले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक आधारभूत कार्यालयहरु भैरहवामा स्थापना गर्न नसकेको भन्दै असन्तुष्टि जनाइएको छ।

