
हृदयराम गुप्ता
मर्चवार,२७ चैत। रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६ सेमरहवाका मादिका लोनिया पेशाले कृषक हुन् । कान्छी छोरीको ०८२ बैशाख ५ गते विवाह तय छ । न्यून आय स्रोत रहेको लोनियाले एकमुष्ठ पैसा झिकेर छोरीको विवाह गर्नका लागि वर्षौ देखि स्थानीय सहकारीमा आफ्नो पसिनाको थोरै-थोरै कमाई बचत गर्दै आएका थिए ।
Advertisement

Advertisement
Advertisement

श्री गौतमबुद्ध स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा उनले करिब ६ लाख रुपैयाँ बचत गरेका छन् । तर, सहकारीमा सञ्चालक समिति र कर्मचारीबीचको विवादले उनलाई विवाहको अन्तिम समयमा ‘डुबाएको’ छ । छोरीको विवाह नजिकै आइसक्दा समेत आफ्नो बचत फिर्ता नपाउँदा उनी चिन्तित छन् ।
‘छोरी विवाहका लागि मैले थोरै-थोरै गरेर सहकारीमा रकम जम्मा गर्दै आएको थिए’,उनले भने, ‘तर, अहिले सहकारीमा सञ्चालक समिति र कर्मचारीबीच विवाद रहेको भन्दै मेरो बचत रकम दिन मानेका छैन ।’ विवादका कारण उक्त सहकारी बन्द छ ।
उनले थपे–‘बचत रकम फिर्ता लिन सहकारीका अध्यक्षसँग जाँदा विवाद अन्त्य नभएसम्म कुनै विकल्प नरहेको सुनाउनुहुन्छ । विवाद के हो ? कसरी भयो ? कसरी अन्त्य हुन्छ ? त्यो मलाई थाहा भएन। तर, बचत गरेको आफ्नो पसिनाको कमाई मैले पाउनुपर्छ। अरु थाहा भएन ।’
छोरीको विवाह खर्चका लागि आफन्तसँग ऋण खोज्न जाँदा आर्थिक मन्दीका कारण ऋण समेत नपाइएको उनले पीडा सुनाए ।
सम्मरीमाई–६ बस्ने नन्दलाल चौहानको पनि समस्या उस्तै छ । उनले विवाहको लगन हरेर वैशाखमा छोरीको विवाह तय गरेका छन् । विवाहको मिति जति नजिकिदैं छ उनलाई पीडाले त्यती सताउँदै गएको छ । उनले पनि सोही सहकारीमा बचत रकम माग गर्दा पाएका छैनन् । बुवा बुद्धु चौहानको पेन्सन बापतको ५० हजार रुपैयाँ समेत उनले सहकारीमा बचत गरेका थिए ।
बुवा र छोरा दुवैले जम्मा गरेको बचत रकम छोरीको विवाहमा खर्च गर्ने सोचमा उनी थिए । उनी भन्छन्–‘बचत फिर्ताको लागि जाँदा सहकारीमा ताला लागेको देखिन्छ । अध्यक्षसँग सोधपुछ गर्दा ‘सहकारी विवादमा, कर्मचारीहरु हिनामिना गरेका छन्। विवाद टुंगिएपछि मात्र बचत रकम फिर्ता हुन्छ’ भन्ने जवाफ आउँछ ।’
उनले थपे–‘जम्मा गरेको रकम आवश्यक परेको हरेक खण्डमा पाउन सकिने विश्वासले नजिकको सहकारीमा राखेको थिए । तर, सहकारीबाट अब विश्वास उठेको छ ।’
सम्मरीमाई–६ असुरैनाको छोटेलाल लोहारले वैशाख ८ गते छोरीको विवाहको लागि सहकारीमा बचत गरेको रकम समयमा नपाइने भएपछि सहकारीप्रति विश्वास गुमेको बताए । ‘आफ्नो रकम हुँदा पनि अरुसँग ऋण खोज्नुपरेको छ । सञ्चालक समिति र कर्मचारीको विवादले शेयर सदस्य तथा बचतकर्ताहरुले मर्कामा परेका छन्,’ उनले भने।
स्वावलम्बन सहकारीका शेयर सदस्य राजकुमार केवटले बचत रकमबाट मासिक रुपमा नियमित खाने औषधी खरिद गर्छन । तर, अहिले सहकारीमा विवादले आफूले बचत गरेको रकममा आफ्नै अधिकार नदेखिएको बताए । उनले १ लाख ५० हजार बचत गरेको उक्त सहकारीबाट मासिक रुपमा निकाली नियमित औषधी उपचारमा खर्च गर्थे । तर, विवादका कारण शेयर सदस्य मर्कामा परेको उनले गुनासो पोखे ।
विनोद वर्माले फलफूलको पसलबाट दैनिक रुपमा ५ सय रुपैयाँ गरेको बचत एक वर्षमा पाउने म्याद सकिन लागेको छ । उक्त म्याद पुरा हुन लागेसँगै उनको छोरीको विवाह पनि नजिकिदै छ । सहकारीको विवादले आफ्नै रकम पाउने चिन्ता लागेको उनी सुनाउँछन् ।
यी केही प्रतिनिधिमुलक उदाहारणहरु हुन् । यस्ता धेरै बचतकर्ताहरु दैनिक सहकारीको कार्यालय र सहकारी अध्यक्षको घर पुगेर फर्किनुपर्ने बाध्यता छ । २४ सै घण्टा आकस्मिक ऋण उपलब्ध हुने नारा लगाएर बचत गर्न लगाएको सहकारीमा आफ्नै बचत रकम पाउन दौडधुपसँगै समस्याका बेला काम नलाग्ने देखिएको बचतकर्ताहरु सुनाउँछन् ।
बैंकबाट भन्दा सहकारी नजिक र विश्वासिलो मानिएको मर्चवार क्षेत्रमा यस्ता घटनाहरुले सहकारीप्रति सर्वसाधरणहरुको विश्वास गुम्दै गएको स्थानीयहरु बताउँछन् ।
गत फागुन २६ गते स्वावलम्बनका सञ्चालक समितिले उक्त कार्यालयमा रहेको व्यवस्थापक र कार्यालय सहायकलाई निलम्बन गरेको थियो । निलम्बनपछि उक्त विवाद अदालतमा पुगेकोले सहकारीको सम्पूर्ण सेवा बन्द हुन पुगेको छ । बचत रकम फिर्ता लिन, ऋण लिन, ऋणको साँवा तथा ब्याज तिर्न आउने शेयर सदस्यहरु कार्यालयबाट त्यत्तिकै फर्किने गरेका छन् ।
सहकारी संस्थाका अध्यक्ष दीपचन्द्र मौर्यले सहकारीका व्यवस्थापक र कार्यालय सहायकलाई निलम्बन गरेको विषयमा अदालतले सबै कार्य यथावत राख्नु भनी गरेको आदेशले सहकारी बन्द अवस्थामा हुन पुगेको बताए ।
उनले भने–‘म पनि सहकारीको शेयर सदस्य हो। अरु जस्तै मलाई पनि चिन्ता छ। तर, अदालतको अवहेलना पनि गर्न सकिन्न। चैत २६ गते अदालतमा साधरण तारेख छ। त्यसपछि पेशीमा परेपछि सहकारी सञ्चालनको बाटो खुल्ने आशा छ।’
सञ्चालक समिति विवादलाई छिटो समाधान गरी पूर्ण रुपले नियमित सञ्चालन गर्नेतर्फ रहेको उनले बताए । आर्थिक कारोबारमा कर्मचारी र सञ्चालक समितिको संयुक्त दस्तखत चल्ने भएकोले तत्कालका लागि बचत रकम फिर्ता गर्ने अवस्था नदेखिएको उनले सुनाए ।

