


काठमाडौं,२८ चैत। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जति धोइपखाली गरेपनि संवैधानिक बनाउन नसकिने बताएका छन्।
नेपाली कांग्रेस बागमती प्रदेशले बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्रलाई धोएर सफा गरेर कसैले पनि संवैधानिक बनाउन नसक्ने बताएका हुन्। निर्मल निवासमा बसेर उत्पात मच्याउनेले नारायणहिटी दरबारमा बसेको भए के गर्थे होलान् भन्दै प्रश्न समेत गरे।

‘नेपालको राजा कसैले पनि धोएर जति सफा गरे पनि उसलाई कसैले संवैधानिक बनाउन सक्दैन’, उनले भने, ‘कांग्रेस लामो अनुभव गरेर त्यो निर्णय गरेको हो।’
कांग्रेस नेपालको राजसंस्थालाई संवैधानिक बनाउनुपर्छ मान्यता राख्ने पार्टी भएको बताउँदै राजसंस्था भएका अन्य मुलुकको चरित्रजस्तो नेपालको राजसंस्थाले देखाउन नसकेको उनले दावी गरे।

