


काठमाडौं,२८चैत। गत चैत १५ गते काठमाडौंको तीनकुनेमा हिंसात्मक प्रर्दशनपछि फरार भएका राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईँको सचिवालयले उनले भारतमा आत्मसमर्पण गरेको बताएको छ।
राति ९ः१३ बजे दुर्गा प्रसाईं नामबाट संचालित फेसबुक आईडीबाट उनको सचिवालयले स्ट्याट्स पोष्ट् गरेर लेखेको छ, ‘अहिले २ घण्टा अगाडि हाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईंज्यूले आफ्नो सुरक्षाको लागि आफैँ भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ, हिजोमात्र हामीले भिडिओ मार्फत हाम्रो ज्यानको सुरक्षाको ग्यारेन्टी भए २४ घण्टाभित्र उपस्थित हुन्छौं,भनेका थियौं र आज उपस्थित भयौं!’

प्रहरीले प्रसाईंलाई काठमाडौं ल्याएर संगठित अपराध, राज्यविरुद्धको कसुर, अपराधिक उपद्रव लगायतका अभियोगमा अनुसन्धान गर्ने तयारी छ ।
गत चैत १५ गते काठमाडौँको तीनकुनेमा प्रसाईको नेतृत्वमा भएको राजावादीको प्रदर्शनले हिंसात्मक रुप लिदाँ दुई जनाको मृत्यु भएको थियो। साथै, विभिन्न स्थानमा तोडफोड, आगजनी र लुटपाट गरिएको थियो।
घटना पश्चात उनी फरार भएका थिए। त्यसयता उनले सामाजिक संजालमा भीडियो मार्फत आफु नभागेको भन्दै असुरक्षित रहेकोले जोगिएर बसेको र सुरक्षाको ग्यारेन्टी आफु उपस्थित हुने बताएका थिए।

