


भैरहवा, ७ बैशाख। समाजमा बढ्दो अपराध न्यूनीकरणका लागि सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का स्थानियहरु एकजुट भएका छन् । टोलमा चोरी लगायतका घटना बढेपछि रोक्नका लागि स्थानीयहरुले राजेश धवलको अध्यक्षतामा गोनहिया टोल सुरक्षा समिति गठन गरेका छन् ।
समितिको उपाध्यक्षमा देव सिंह गुरुङ्ग, सचिव राधेश्याम विश्वकर्मा, कोषाध्यक्ष मोहम्मद शमसेर रहेका छन् । यस्तै सदस्यहरुमा मोहन गुरुङ्ग, रमेश गुप्ता, बाबुराम कहार, धनिराम चौधरी, अजय राजभर, दुर्गा बहादुर थापा र झिनक चौधरी छन् । सल्लाहकारमा विवेक पौडेल, बसन्त प्रसाद भट्टराई, सन्तोष रायमाझी, राममिलन यादव, बुद्धिसागर तेली, फणिन्द्र पौडेल र भिम नारायण चौधरी रहेका छन्।

पछिल्लो समय गोनहियामा रहेको अटोभिलेज र गोनहिया गाउँमा चोरीका घटना बढेका छन् । मादक पदार्थ तथा लागु पदार्थ सेवन गरि अवाञ्छित तत्वहरुले चोरी गर्दै हिडे पछि यसको नियन्त्रणको लागि आफै अग्रसर हुनु परेको सल्लाहकार सन्तोष रायमाझीले बताए।
‘गोनहिया गाउँ मात्र हैन अटोभिलेजमा रहेका बिभिन्न महत्वपूर्ण उपकरणहरु संगठित रुपमै चोरी भईरहेका छन्’,उनले भने, ‘चोरी नियन्त्रणका लागि प्रहरीमा उजुरी दिएर कारवाही भएपनि घटना नियन्त्रण नभएपछि आफै पनि नियन्त्रणको प्रयासमा लागेका हौं ।’
उनले समितिले चोरीका घटना नियन्त्रण गर्न पालैपालो गश्ती गरि भेटिएका शंकास्पद व्यक्तिहरुलाई प्रहरीको जिम्मा लगाउने जानकारी दिए ।
समितिका अध्यक्ष राजेश धवलले रातीमा यस क्षेत्रमा अनावश्यक कामले नहिड्न तथा मादक पदार्थ सेवन गर्ने थलो नबनाउन आग्रह गरे । क्षेत्रमा चोरीको घटना बढ्दो रहेको र स्थानियहरु आक्रेशित भएकोले आक्रोशबाट जोगिन पनि रातीमा अनावश्यक कामले हिड्डुल नगर्न उनको भनाई छ।
स्थानीय नागरिकले प्रहरीसंँग शान्ति सुरक्षाका क्षेत्रमा सहकार्य गर्ने, कुनै घटना भए अनुसन्धानमा सहयोग होस् भन्ने उद्देश्यकासाथ समिति गठन गरिएको उनले बताए ।

