


भैरहवा, ७ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित हवाई उडानका लागि प्रदेश सरकारले निरन्तर पहल गरिरहेको बताएका छन् । अन्तर्राष्ट्रिय विमानस्थल र हवाई उडानका कारण प्रदेशको आर्थिक तथा पर्यटन व्यवसाय नयाँ उचाइमा पुगेको उल्लेख गर्दै नियमित हवाई उडानका लागि सरकार निरन्तर सक्रिय रहेको उनको भनाइ छ ।
लुम्बिनीखबर सञ्चार गृह प्रालिले आइतबार रुपन्देहीको भैरहवामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले विमानस्थल सञ्चालनका लागि प्रदेश सरकारले संघीय सरकारको ध्यानाकर्षण गराउन सफल भएको जानकारी दिए । ‘मेरो नेतृत्वमा सरकार बनेलगत्तै संघीय सरकारको ध्यानाकर्षण गराउन काठमाडौं पुग्यौं । त्यसपछि हवाई उडान सुरु भयो,’ उनले भने,‘अहिले फेरि उडान प्रभावित हुने अवस्थामा पुगेको देखिएको छ । यसमा प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको छ ।’

निजी क्षेत्रबाट थालिएको संघर्षका कार्यक्रमप्रति पनि प्रदेश सरकारको चासो रहेको मुख्यमन्त्री आचार्यले स्पष्ट पारे । आफू पछिल्लो समय संघीय राजधानी काठमाडौं पुगेका बेला विमानस्थल सञ्चालन र हवाई उडान नियमित गराउने विषयमा प्रधानमन्त्री, अर्थमन्त्रीलगायत उच्च अधिकारीहरूसँग भेटघाट भएको उनले जानकारी दिए ।
‘व्यवसायी साथीहरूको पक्षमा प्रदेश सरकार दृढतापूर्वक उभिन्छ । तपाईंहरूको साथमा प्रदेश सरकार छ । यो विमानस्थल नियमित सञ्चालन गर्न प्रदेश सरकार अविचलित भएर अघि बढ्छ,’उनले भने ।
त्यस्तै मुख्यमन्त्री आचार्यले मिडिया क्षेत्र जिम्मेवार भएर समाज सुधारको क्षेत्रमा अघि बढ्नुपर्नेमा जोड दिए । सञ्चार क्षेत्रको जिम्मेवारी संवेदनशील र महत्वपूर्ण भएकाले जिम्मेवारपूर्ण रूपमा भूमिका बढाउन आवश्यक रहेको उनको भनाइ थियो ।
सञ्चारमाध्यमहरूले वास्तविक विषय जनसमक्ष पुर्याउने महत्वपूर्ण भूमिका खेलेकोप्रति आभार प्रकट गर्दै उनले पछिल्लो समय सञ्चारको नाममा विकृति भित्रिन थालेको, भ्रमपूर्ण समाचारको खेती मौलाउन थालेको र अराजकतालाई बल पुग्ने गरी सूचनाको चलखेल भइरहेकोप्रति गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याए ।

