


लुम्बिनी,१२बैशाख। लुम्बिनीमा अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिबल र सेमिनार हुने भएको छ। नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि चौथो फेष्टिवल लुम्बिनीमा आयोजना गरिएको हो। बैशाख १३ र १४ गते हुने कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तालिका छ।
फेस्टिवल अन्तर्गतको अन्तर्राष्ट्रिय सेमिनारको आयोजक लुम्बिनी बौद्ध विश्वविद्यालय रहेको छ भने फेस्टिभलको समन्वय सारीपुत्र फाउण्डेसनले गरेको छ। नेपाल र चीनबीचको कला संस्कृति प्रवद्र्धनको उद्देश्यसहित फेस्टिबल हुन लागेको हो। चीनको वल्र्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्राफी एण्ड पेइनिङ एकेडेमीले सहकार्य गरेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोषले सहकार्य गरेका छन् ।

फेस्टिवलमा ४० देशका प्रतिनिधिहरु सहभागी हुने जनाइएको छ। ५ हजार बढीको सहभागिता विहान ८ बजेदेखि लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा फेस्टिवल सुरु हुने जनाइएको छ। अन्तर्राष्ट्रिय सेमिनार भने लुम्बिनी बौद्ध विश्वविद्यालयमा हुनेछ। विश्वविद्यालयको मेत्ता हलमा हुने सेमिनारको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यले गर्ने कार्यक्रम रहेको छ।
सेमिनारमा ४० वटा कार्यपत्र प्रस्तुत हुने सेमिनार संयोजक डा. सागर न्यौपानेले जानकारी दिए। बौद्ध संस्कृति, चिनियाँ संस्कृति, कला, परम्परागत बौद्ध चिकित्सा तथा बौद्ध शिक्षामा केन्द्रीत रहेर सेमिनारमा कार्यपत्र प्रस्तुत हुने उनको भनाई छ। सेमिनार शनिबार दिउँसो १ बजेबाट सुरु भएर आइतबार ५ बजे सकिने बताइएको छ। कार्यपत्रमध्ये ३२ वटा विदेशी विज्ञहरुको रहेको जनाइएको छ।
फेस्टिवल अन्तर्गत अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा सांस्कृतिक कार्यक्रम तथा फोटो प्रदर्शनी हुनेछ। मायादेवी मन्दिर, रामग्राम र तिलौराकोटमा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको सारिपुत्र फाउन्डेनले जनाएको छ। यसअघि पहिलो, दोस्रो र तेस्रो सांस्कृतिक फेस्टिवल कम्बोडिया, श्रीलंका र थाइल्याण्डमा सम्पन्न भइसकेका छन्। लुम्बिनीको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने योजनासहित यो पटक लुम्बिनीमा फेष्टिबल आयोजना गरिएको जनाइएको छ।

