


भैरहवा,१७ बैशाख। अधिकांश किसानहरुले गहुँ र केही मात्रामा धानबाली भित्राएपछि बालीका अवशेष खेतमा जलाउने गरेका छन् । यसरी बालीजन्य अवशेष जलाउँदा नजिकमा रहेका खेतका बाली, वनजंगल र वस्तीमा आगो सल्केर नष्ट भएको धेरै खबर बाहिरिने गरेको छ। तर, यसका साथै वातावरणमा पर्न जाने क्षति र असरबारे कम मात्रामा ध्यान पुगेको र चर्चा गरेको पाइन्छ । बालिजन्य अवशेष जलाउँदा माटोको गुणस्तर खस्किनुका साथै वायु प्रदूषण भई जलवायु परिवर्तनमा समेत असर पुग्दछ ।
नेपालमा वार्षिक सरदर ४४,८२,७८७ मेट्रिकटन बालिजन्य अवशेष जलाउने गरिन्छ । यो अवशेषको कम्पोष्टिङ गरेमा करिब ८०,६८,९९९ मेट्रिकटन मल उत्पादन गर्न सकिन्छ । उत्पादित कम्पोष्टमलले नेपालको तराईका कृषि माटोमा कम मात्रामा रहेको (१ प्रतिशत भन्दा कम) र मध्यम मात्रामा रहेको (१–२.५प्रतिशत) जैविक पदार्थलाई बढाई खेतीयोग्य माटोको लागि चाहिने जैविक पदार्थ ५ प्रतिशतसम्म बढाउन मद्दत गर्न सक्छ।

उक्त विषयलाई लिएर अनुसन्धान र विकास मुलक संस्था– वातावरण, उर्जा तथा जल अनुसन्धान केन्द्रले मायादेवी गाउँपालिका र लुम्बिनी सिड कम्पनीको साझेदार र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम–विश्व वातावरण कोष–साना अनुदान कार्यक्रमको सहयोगमा माटोको दीगो व्यवस्थापन तथा परस्थितिक प्रणाली सुधारका लागि बालीजन्य अवशेषको कम्पोष्टिङ परियोजाना अन्तर्गत पालिकाहरुसँग परियोजनाबारे आदान–प्रदान तथा विस्तार सम्बन्धि गोष्ठी गरेको छ ।
भैरहवामा सम्पन्न गोष्ठीमा मायादेवी गाउँपालिका कृषि शाखा प्रमुख शशी ढुंगानाले माटो लगायत कृषिको सम्पूर्ण पर्यावरण सुधारको खाँचो रहेकोबारे बताए। परियोजनाका सहायक अनुसन्धानकर्ता नविन चौलागाईंले परियोजनाको पृष्ठभूमि र उद्देश्यबारे प्रस्तुति दिएका थिए। गोष्ठीमा परियोजनाले विगत डेढ वर्षमा अनुसन्धान र विकास, क्षमता विकास र जनचेतनाबारे गरेका क्रियाकलाप, सिकाई, चुनौती र परियोजनालाई अन्य पालिकाहरुमा पनि विस्तार गर्न सकिनेबारे प्रस्तुति गरिएको थियो ।
यस परियोजनाले गहुँको छ्वाली र धानको पराललाई कुहाउने सक्ने सुक्ष्मजीव लगायत अन्य सुक्ष्मजीवको सम्रिक्षण तयार गरेको छ र यसको प्रयोगले प्रारम्भिक नतिजा अनुसार चाहिने हावा, चिस्यान, तापक्रम र कार्बन नाईट्रोजन अनुपात कम गर्दै मिलाएर लगेको खण्डमा २.५ महिनामा कुहाएर मल बन्नसक्ने जनाएको छ। यस्तै बालीजन्य अवशेष कम्पोष्टिङ गरि मल बनाउन कृषकले आफ्नै स्थानीय ठाउँमा पाइने गाईको गोबर, गाईको मुत्र, सखर, बेसन मलिलो माटो १०० लिटर पानीमा घोल बनाई हरेक दिन केहीबेर चलाई १०–१५ दिन पछि गहुँको छ्वाली र धानको पराल लगायत अन्य बालीजन्य अवशेष तथा जैविक अवशेषको कम्पोष्टिङ गर्न जोरणको रुपमा प्रयोग गर्न सकिने बताइन्छ।
यसबारे रुपन्देही र नवलपरासी जिल्लाका गाउँपालिकाहरु– मायादेवी, कोटहीमाई, गैडहवा, सरावल, प्रतापपुर र रामग्राम, तिलोत्तमा र सुनवल नगरपालिकाका ४५६ कृषकहरुलाई तालिम दिइएको थियो। १४ जना अगुवा कृषकलाई उक्त प्रविधिबारे अभ्यास गराउँदै अन्य कृषकहरुमाझ प्रसार र विस्तार गर्न तयार गरिएको छ।
परियोजनाका अनुसन्धानकर्ता तथा संस्थाका कार्यकारी निर्देशक डा. रविन मल्लले हरेक पालिकाले माटोको गुणस्तर उकास्न कृषिजन्य अवशेष नजलाई यस परियोजनाले तयार गरेको प्रविधि र कृषकलाई जोरण बनाउन सिकाएको कम्पोष्टिङ प्रविधिको प्रयोग र विस्तार गर्न पालिकाहरुलाई प्रस्ताव सहित आग्रह गरे। परियोजनाका टिम लिडर डा. सविन बसीले तयार भएको प्रविधिले वनजंगलमा हुने पातपतिंगर पनि कुहाउने सक्ने देखिएकोले वनडढेलो कम गर्न पनि मद्दत सक्ने बताए।
लुम्बिनी सिडका अध्यक्ष सुभाषराज उपाध्यायले वैदिकग्रन्थमा माटोको महत्व चर्चा भएको र यसको मान्यता आजभोलिको परिप्रेक्ष्यमा अझ बढेर गएको औल्याए। कृषि ज्ञान केन्द्र रुपन्देहीका प्रमुख शिवप्रसाद अर्यालले लुम्बिनी प्रदेश सरकारले माटोको नियमित परीक्षण र व्यवस्थापनलाई प्राथमिकता दिएर कार्यक्रम गरिरहेको जनाए।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजाना, परियोजाना कार्यान्यन एकाई, भैरहवाका प्रमुख नारायण काफ्लेले परियोजनाले गरेका कार्यक्रमहरुको आफ्ना जोनका कृषकले रुचाएकाले आफ्नो परियोजानाले पनि कार्यक्रम बनाई निरन्तरता दिने बताए।
सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे र मायादेवीका अध्यक्ष ध्रुवनारायण चौधरीले गाउँपालिकामा सिमित साधनस्रोत हुने हुँदा चुनौती रहेको बताए। यद्यपी यस परियोजानालाई अगाडि बढाउने र कृषकको लागि सचेतना र तालिमका कार्यक्रममा जोड दिने बताउँदै अन्य पालिकाहरुसँग पनि हातेमालो गरिने उनीहरुको भनाई छ ।

