
भैरहवा, ३० बैशाख। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्।
मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरेर उनले पार्टीको उपाध्यक्ष पदबाट साथै साधरण सदस्य समेत नरहने गरी परित्याग गरेको घोषणा गरेका हुन्। उनीसँगै राप्रपा रुपन्देही क्षेत्र नम्बर ३ उपाध्यक्षका डा.अमित चर्तुवेदी र राष्ट्रिय प्रजातन्त्र महिला संगठनको जिल्ला सल्लाहकार विनिता गुप्ताले पनि पार्टी परित्यागको घोषणा गरेका छन्।
Advertisement

Advertisement
Advertisement

राजनीतिक दलप्रति जनताको विश्वास घट्दै गइरहेको अवस्थामा नेतृत्वकर्ता समेतले जनताको गुनासो सम्बोधन गर्न नसकेको उपाध्यक्ष गुप्ताको भनाई छ । उनले कुनै पार्टीको सिद्धान्त, अभियान नराम्रो नभएको भन्दै पार्टीको नेतृत्वकर्ताको कार्यक्षमता राम्रो नभएकोले जनताको निराशा बढेको बताए ।
‘पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अभियानलाई मान्छु तर यहाँ अलिकति त्रुटीहरु छन्’, पार्टीको रुपन्देही अध्यक्ष सागरप्रताप राणालाई लक्षित गर्दै पत्रकार सम्मेलनमा उनले भने,‘त्यस्ता त्रुटीहरुसँग मेरो असन्तुष्टि रह्यो। मैले मौका दिए। मैले प्रयास गरे। ती प्रयासलाई नजरअन्दाज गरेपछि पार्टी परित्याग गर्ने अवस्थामा पुगेको हुँ ।’
पार्टी परित्यागको ठोस कारणबारे नखुलेका गुप्ता पार्टी जिल्ला अध्यक्ष राणा नाम नलिई उनीसँगको असन्तुष्टि व्यक्त गरे। उनले देशभरमा उमेर कटिसकेका नेतृत्वकर्ताहरु स्थान छाड्न नखोजेको सर्वविदैत रहेको भन्दै पार्टीमा युवाहरु प्रयोग हुने तर उनीहरुको उचित स्थानका लागि प्रश्न खडा भएको अवस्था रहेको बताए।
लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ र नेपाल भारत अवध मैत्री समाज रुपन्देहीका अध्यक्ष समेत रहेका उनले भने,‘जहाँ चित्त बुझ्दैन्, त्यहाँ बस्नु उपयुक्त हुँदैन। जनताको सेवाका लागि बाहिर बसेर पनि काम गर्न सकिन्छ । अहिले स्वतन्त्र नै बस्छु ।’

