
भैरहवा,३०बैशाख। रुपन्देहीको रोहिणी गाउँपालिकास्थित धकधईमा दोस्रो रोहिणी सांस्कृतिक मेला महोत्सव हुने भएको छ। सामाजिक कार्यमा अग्रसर रहेको रोट्रयाक्ट क्लब अफ सेन्ट्रल रोहिणीको आयोजनामा जेठ १ गते देखि जेठ १५गतेसम्म महोत्सव हुने भएको हो।
न्यू एम के साउण्ड सिस्टमको व्यवस्थापनमा हुने महोत्सवमा नेपाल र भारतका कलाकारको प्रस्तुति रहने आयोजित पत्रकार सम्मेलनमा रोट्रयाक्ट क्लब अफ सेन्ट्रल रोहिणीका अध्यक्ष इमरान खानले जानकारी दिए। उनका अनुसार १५ दिनसम्म आयोजना हुने महोत्सव साँझ पाँच बजेदेखि राति साढे दश बजेसम्म संचालन हुनेछ।
Advertisement

Advertisement
Advertisement

उनले महोत्सवमा नेपाली कलाकार प्रिति पासवन, ज्योती मगर, दुर्गेश थापाका साथै भारतीय कलाकार धडकन धनन्जय लगायत विनिता शाही डान्स ग्रुपको प्रस्तुती रहने बताए। उनले भने,‘ महोत्सवमा केही चर्चित कलाकारहरु आउने पक्का भएको छ र केहीसँग कुराकानी भईरहेको छ।’ यस्तै महोत्सवमा कुस्ती प्रतियोगिता गराउने समेत प्रयास भइरहेको उनले जनाए।
महोत्सवमा बिभिन्न ५० वटा स्टलका साथै बाल उद्यानहरु पनि छन्। महोत्सवमा स्थानीय उत्पादन, कृषि प्रर्दशनीसंगै सांस्कृतिक कार्यक्रम पनि समावेश गरिएको आयोजकले जनाएका छन्।
महोत्सवको प्रवेश शुल्क एक सय रुपैयाँ तोकिएको छ भने बिद्यार्थीलाई भने २० प्रतिशत छुट दिईने क्लबका सचिव एवं कार्यक्रम संयोजक हसामुद्दिन अलीले बताए। उनक अनुसार महोत्सवमा करिब २० लाख खर्च हुने अनुमान गरिएको छ।
‘हामीले अझैसम्म कुनै सरकारी निकायबाट आर्थिक सहयोग पाएका छैनौं’,उनले भने,‘रोहिणी गाउँपालिकामा कार्यक्रम गरिएकोले पालिकाका अध्यक्षलाई प्रमुख अतिथिको लागि आग्रह गरेका छौं।’
महोत्सवमा रोहिणी मात्र नभई यस आसपासका ओमसतिया गाउँपालिका, सिद्धार्थनगर नगरपालिका, परासी र भारत सम्मका करिब ३० हजार दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको कार्यक्रम संयोजक अलीले बताए।
२०२२ सालमा स्थापना भएको रोट्रयाक्ट क्लब अफ सेन्ट्रल रोहिणी स्वास्थ्य शिविर, पर्यवरण सचेतना कार्यक्रम, रक्तदान लगायतको कार्यक्रममा सक्रिय रहेको छ। कार्यक्रमको सञ्चालन क्लबका कोषाध्यक्ष रुद्रराज सिग्देलले गरेका थिए ।

