


काठमाडौं,७जेठ। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा वर्षा र तापक्रम (गर्मी) दुवै सदरभन्दा बढी हुने प्रक्षेपण गरेको छ।
बुधवार विभागले ललितपुरमा आयोजना गरेको ‘राष्ट्रिय मनसुन फोरम–२०८२’ मा मौसमविद्हरुले ऋतुगत मनसुन प्रणालीको प्रक्षेपण सार्वजनिक गर्दै यस्तो बताएका हुन्।

विभागका वरिष्ठ मौसमविद् विभूति पोख्रेलका अनुसार यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुनेछ। उनले देशभरका स्थानअनुसार ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५ प्रतिशत र ३५ देखि ४५ प्रतिशत वर्षा हुने सम्भावना रहेको बताइन्।
यस वर्षको मनसुन ऋतुको अधिकतम तापक्रम पनि सरदरभन्दा बढी हुने सम्भावना रहेको उनको भनाई छ। उनले तापक्रम पनि स्थानअनुसार ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५ प्रतिशत र ३५ देखि ४५ प्रतिशत हुने जानकारी गराइन्।
विभागको वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले नेपालको परिप्रेक्ष्यमा ८० प्रतिशत वर्षा मनसुनको सिजनमा हुने गरेको भन्दै यसबाट हुने क्षति न्यूनीकरण गर्न तयारी अवस्थामा बस्नुपर्ने बताइन्।

