
काठमाडौं,७जेठ। सरकारले मंगलबार नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न सक्ने चर्चाले बढेको सेयर बजार गभर्नर नियुक्त गरेको अर्को दिन ओरालो लागेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको थियो।
गभर्नर नियुक्तिको चर्चाले मंगलबार नेप्से परिसूचक ४९.०९ अंकले बढेर दुई हजार ६७७.४५ विन्दुमा बन्द भएको थियो। साथै, गभर्नर नियुक्त पश्चात सेयर बजार बढ्ने लगानीकर्ताको अनुमान थियो। तर, गभर्नरमा पौडेलले पदभार लिएकै दिन नेप्से परिसूचक ७.९४ अंकले ओरालो लागेर दुई हजार ६६९.५१ विन्दुमा बन्द भएको छ।
Advertisement

Advertisement
Advertisement

यसदिन ३१६ स्क्रिप्सको २ करोड ३० लाख २६ हजार २४५ कित्ता सेयर १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार ६८० रुपैयाँमा खरिदबिक्री भए। मंगलबार ७ अर्ब ३१ करोडको सेयर कारोबार भएको थियो।
यसदिन ओम मेघाश्री फर्माक्युटिकल्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। ७१ करोड मूल्य बराबरको सेयर कारोबार गरी राधी विद्युत शीर्ष स्थानमा रह्यो।
यस्तै माउन्टेन इनर्जीको ५९ करोड, नगदी ग्रुपको ५७ करोड, युनिभर्सल पावरको ४३ करोड र हिमालयन रिइन्स्योरेन्सको ३७ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
कारोबारमा आएकामध्ये ९३ स्टक्सको मूल्य बढ्दा १५३ वटाको घट्यो । एक स्टकको मूल्य भने स्थिर रह्यो। तीन समूहबाहेक अन्यको उपसूचक नकारात्मक देखिएका छन्। बैंकिङ, डेभलपमेन्ट बैंक र म्युचुअल फण्ड समूहको उपसूचक बढ्दा अन्य समूहको उपसूचक घटेको छ।

