


काठमाडौं,८जेठ। विश्व सम्पदामा सूचीकृत गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई खतराको सूचीमा नराख्ने उपायबारे छलफल गरिएको छ।
जसका लागि मन्त्रालयमा बिहीवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र युनेस्कोको नेपाल प्रमुख याको डु टुइटबीच भेटवार्ता भएको छ।


छलफलमा मन्त्री पाण्डेले लुम्बिनीलाई खतरा सूचीमा नपार्ने रणनीति निर्माणका लागि युनेस्कोसँग प्राविधिक र संस्थागत सहयोग आवश्यक रहेको भन्दै युनेस्कोका मापदण्ड अनुसार लुम्बिनीमा विभिन्न सुधारात्मक काम भइरहेको बताए।
साथै उनले कपिलवस्तुको तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचिकृत तथा अन्य सम्पदाहरुलाई पनि युनेस्कोको प्रारम्भिक सूचीमा समावेश गराउने विषयमा सहयोगको आग्रह गरे।
युनेस्को प्रमुख डु टुइटले पूर्ण सहयोगको प्रतिबद्धता जनाउँदै अन्तर्राष्ट्रिय वैज्ञानिक समितिको बैठकमा पनि लुम्बिनी सहित काठमाडौंका विषयमा सकारात्मक छलफल भएकोमा सन्तोष व्यक्त गरे।

