


काठमाडौं,१२जेठ । नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसले एजेण्डा एउटा राखेर समसायिक राजनीतिक घटनाक्रमको छलफलका छुट्टाछुटै बैठक बसेका छन् ।
माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा माओवादीको पदाधिकारी बैठक बसिरहेको छ भने नेपाली कांग्रेस सभापति शेरबहादुरको निवास बुढानीलकण्ठ कांग्रेस पदाधिकारी बैठक जारी छ।

गंगानारायण श्रेष्ठनेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकताबारे निर्णय, पार्टीले चलाइइरहेको अभियानको समीक्षा र समसामयिक राजनीतिबारे छलफल गर्न बैठक बसेको प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार क्रियाशील सदस्यताका विषयमा छलफल गर्नका लागि बैठक बसेको हो । उनले बैठकमा समसायिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने बताए ।
भिजिट भिसा प्रकरण गृहमन्त्री रमेश लेखक मुछिएको अवस्थामा दुवै पार्टीको पदाधिकारी बैठक बसेको हो । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आइतबार प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकको पुतला जलाएको छ।
यता गृहमन्त्रीको राजीनामाको विषयमा कांग्रेसका नेताहरु दुई कित्तामा उभिएका छन् । डा.शेखर कोइराला पक्षले गृहमन्त्री लेखकले आरोप लागेपछि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने सुझाएका छन् भने कृष्णप्रसाद सिटौला पक्षले गृहमन्त्रीको बचाउ गर्दै कुनै कर्मचारीले गरेको गल्तीलाई आधार बनाएर मन्त्रीको राजीनामा माग्ने कार्यले गलत नजिर बस्ने बताइरहेका छन्।
त्यस्तै आज कांग्रेस र माओवादी केन्द्रको पदाधिकारी बैठक बस्नु अघि आइतबार नै कांग्रेस सांसद समेत रहेका लेखकमाथि उठेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भइसकेको बताइएको छ।
नेकपा एमालेको आइतबार बसेको सचिवालय बैठकले गृहमन्त्री लेखकको विषय कांग्रेसको पोल्टामा नै छाडेको छ । बैठकपटि प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका शीर्ष नेताहरुसँग छलफल गरेका छन् ।
पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई साथमा राखेर प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा लगायतसँग बैठक राखेर छलफल गरेका थिए।त्यसपछि प्रधानमन्त्री ओली र सभापति देउवाबीच एक्लाएक्लै छलफल भएको थियो।

