


भैरहवा, १४ जेठ । रुपन्देहीको रोहिणी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना गाउँपालिका घोषणा गरिएको छ। रोहिणी–३ स्थित धकधईमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले पूर्ण खोप सुनिश्चितता दिगोपना गाउँपालिका घोषणा गरेका हुन्।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष उमाकान्त चपाईले पूर्ण खोप सुनिश्चितता दिगोपना गाउँपालिका घोषणाका लागि अहारोत्र खट्नुहुने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका धन्यवादको पात्र भएको बताए ।

रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले रातदिन खटेर सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई धन्यवाद व्यक्त गरे। उनले महिला स्वास्थ्य स्वयंसेविकाको सेवासुविधा बढाउने विषयमा गाउँपालिका गम्भिर रहेको बताए। ‘रोहिणी गाउँपालिकामा महत्वपूर्ण कार्यहरु भएका छन’्, उनले भने। गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ती हरिजनले स्वास्थ्यकर्मीलाई जति धन्यवाद दिए पनि त्यो कमै हुने बताइन्।
स्वास्थ्य कार्यालय रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीले खोप लगाउन पाउनु बालबालिकाको अधिकार भएको बताए। उनले महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको बताए। । रोहिणी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले सबैको मिहिनेत र सहयोगले रोहिणालाई पूर्ण खोप सुनिश्चितता दिगोपना गाउँपालिका घोषणा गरिएको बताए।
पोखरभिण्डी स्वास्थ्य चौकीका इञ्चार्ज तारा प्रसाद गैरेले खोप लगाउने उमेरका कुनै पनि बालबालिका छुट्न नहुने बताए। छिपागढ माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्र कुमार यादवले खोप जस्तै कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपर्ने गरी अगाडि बढ्नुपर्ने जनाए।
कार्यक्रममा रोहिणी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनेवास प्रसाद चौधरी, गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका नारायण ढुंगाना, इन्द्रेणी ग्रामीण विकास सेवा केन्द्रका प्रतिनिधि सरस्वती थापा, महिला स्वास्थ्य स्वयंसेविका सरिता पाण्डे, पजरकट्टी स्वास्थ्य चौकीका तथ्यांक फोकल पर्सन रमेश चौवे लगायतले बोलेका थिए।
पूर्ण खोप पालिका सुनिश्चित गर्ने कार्यविधि राष्ट्रिय निर्देशिका बमोजिम सम्पूर्ण प्रक्रियाहरु पूरा गरी रोहिणी गाउँपालिकाले २०८२ वैशाख २० मा १६ देखि ५९ महिनासम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप दिलाई पूर्ण खोप पाएको सुनिश्चित गरिएको भन्दै कार्यक्रममा गाउँपालिकालाई पूर्ण खोप सुनिश्तितता प्रमाणपत्र प्रदान गरिएको थियो । जिल्ला खोप समन्वय समितिका अध्यक्ष उमाकान्त चपाई र समितिका सदस्य सचिव चिन्तामणि ज्ञवालीले उक्त प्रमाणपत्र गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवलाई प्रदान गरेका थिए।

