


काठमाडौं,१६जेठ। सरकारले भारतीय पर्यटकहरुले नेपाल भ्रमणको क्रममा २५ हजार भारतीय रुपैयाँ मात्र ल्याउन पाइने सीमा हटाएको छ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले हवाई वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले नेपालमा विनिमय हुने ५ हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा वा ट्राभलर्स चेक साथमा ल्याउन पाउने व्यवस्था गरेको छ।

यस भन्दा अघि भारतीय नागरिकले २५ हजार भारु सम्ममात्र ल्याउन पाउँथे। जसकारण नेपालको पर्यटन क्षेत्रमा असर परेको थियो। पर्यटन व्यवसायीहरुबाट निश्चित २५ हजार रकमको सीमा हटाउनु पर्ने माग उठ्दै आएको थियो।
जसलाई सम्बोधन गर्दै अब सरकारले २५ हजार भारु भन्दा बढी रकम भन्सार बिन्दुमा घोषणा गरी ल्याउन सक्ने व्यवस्थालाई सहजीकरण गरिने बजेटमा उल्लेख गरेको छ।
भारत बाहेक देशका नागरिकले भने ५ हजार डलरसम्मको मुद्रा ल्याउन पाउने प्रावधान यसअघि नै थियो। बजेटको यो प्रावधानले पर्यटकलाई सुविधा तथा खर्च गर्ने क्षमता बढाउने पर्यटन व्यवसायीहरुले बताएका छन्।

