
भैरहवा,२७जेठ। रुपन्देहीको ओमसतिया गाउँपालिकाको वडा नम्बर २ को कार्यालयले वडावासीहरुलाई विद्युतीय चुल्हो उपलब्ध गराएको छ।
ऊर्जा क्षेत्रबाट कार्बन उत्सर्जन न्यूनीकरणका साथै स्वच्छ ऊर्जाको प्रयोगबाट वातावरण संरक्षणमा टेवा पुर्याउने समेतको उद्देश्यसहित वडावासीहरुको माग अनुसार विद्युतीय चुल्हो उपलब्ध गराइएको ओमसतिया गाउँपालिका-२ का वडाअध्यक्ष सितल जिटीले बताए।
Advertisement

Advertisement
Advertisement

उनका अनुसार ६० प्रतिशत अनुदानमा वडाका एक सय एक जनाको परिवारलाई विद्युतीय चुल्हो उपलब्ध गराइएको हो।
‘वडा कार्यालयले वडामा पूर्वाधार लगायतको विकाससँगै हामी स्थानीयहरुको माग अनुसार विद्युतीय चुल्हो समेत उपलब्ध गराएकोमा खुशी छौं’,स्थानीय बालकिसुन साहनीले भने, ‘अरु पालिकामा जस्तै कमसल, कामचलाउ कम्पनीको सामग्री होला भन्ने लागेको थियो तर पाएपछि थाहा भयो ब्राण्डेड कम्पनीको चुल्हो रहेछ।’
उनले विद्युतीय चुल्हो प्रयोगले थोरै भएपनि वातावरण संरक्षणमा टेवा पुगोस् भन्ने उद्देश्यले कार्यालयबाट जारी सूचना अनुसार आफुले चुल्हो प्राप्तिका लागि कार्यालयमा निवेदन दिएको बताए ।
‘हामीले खाना पकाउनका लागि एलपिजी ग्याँसको प्रयोग गछौं जसकारण मुलुकबाट वार्षिक अर्बौ रुपैयाँ समेत बाहिरिँदैछ’, वडाअध्यक्ष जिटीले भने, ‘विद्युतीय चुल्होको प्रयोगले वातावरण संरक्षणमा टेवा पुग्नुका साथै मुलुकबाट बाहिरिने रकममा थोरै भएपनि कमी आउने विश्वासका साथ पनि वडावासीहरुलाई चुल्हो उपलब्ध गराइएको हो।’
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले पनि विद्युतीय चुल्हो प्रवर्द्धन गर्ने अभियान चलाउँदै आएको छ।

