
भैरहवा,२९जेठ। शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा विदेशी पर्यटकमध्ये सबैभन्दा बढी श्रीलंका र थाइल्याण्डका पर्यटकले भ्रमण गरेका छन्। अन्य देशका पर्यटकका तुलनामा बौद्ध धर्मप्रति आस्थावान यी दुबै देशबाट प्रत्येक वर्ष लुम्बिनी आउने पर्यटकको संख्या निरन्तर उकालो लाग्दै गएको छ।
चालु वर्षको जनवरी देखी मे सम्म ५ महिनामा १२ हजार ८ सय ४१ जना श्रीलंकन र सोही अवधिमा १२ हजार ६८ थाइ पर्यटक लुम्बिनी आएका छन्। यी दुबै देशका नागरिकहरु प्राय स्थलमार्गको बेलहिया (भैरहवा)नाका हुँदै लुम्बिनी भ्रमणमा आउने गरेका छन्।
Advertisement

Advertisement
Advertisement

गत वर्ष सन् २०२४ मा २३ हजार ५ सय ६९ श्रीलंकन लुम्बिनी आएका थिए। सोही वर्ष थाइल्याण्डबाट २१ हजार ४ सय १६ जना लुम्बिनी आए। त्यसैगरी सन् २०२३ मा १६ हजार १ सय ७२ जना श्रीलंकन लुम्बिनी आउँदा १५ हजार ७ सय २१ जना थाइल्याण्डबाट पर्यटकहरु आएका थिए।
सन् २०२५ को जनवरीमा १ सय ९८, फेब्रुअरीमा ३ हजार ६ सय ८४, मार्चमा ८ हजार १ सय ६६, अप्रिलमा ६ सय ५५ र मे मा १ सय ३८ जना श्रीलंकन लुम्बिनी आएका थिए। यस्तै थाइल्याण्डबाट जनवरीमा २ हजार ७ सय २०, फेब्रुअरीमा ४ हजार ६ सय २०, मार्चमा ४ हजार २ सय २, अप्रिलमा २ सय २३ र मे मा ३ सय ३ जनाले लुम्बिनी भ्रमण गरेका छन्।
श्रीलंकन र थाइ नागरिकहरु आफ्नो जीवनमा एक पटक लुम्बिनी जानै पर्ने मान्यता राख्छन्। त्यसैले पनि यी दुई देशबाट लुम्बिनी भ्रमण आउनेको संख्या अन्य देशका तुलनामा बढ्दै गएको लुम्बिनी विकास कोषका सूचना अधिकारी डा.हरिध्वज राईले बताए। दुबै देशका नागरिकहरुको आस्थाको केन्द्रका रुपमा लुम्बिनी रहेको छ।
अघिल्लो महिना १६५ जना थाइ नागरिक एक विशेष पूजाका लागी बैंककबाट थाइ एयर एसियाको विमान चार्टर गरी आएका थिए । दुबै देशबाट अर्थात थाइल्याण्डको बैंकक र श्रीलंकाको कोलम्बोबाट साप्ताहिक रुपमा भए पनि सिधा उडान भैरहवा गर्न सके उक्त देशबाट पर्यटक अझ बढने पर्यटन व्यवसायीहरुको भनाई छ।
थाइ एअर एशियाले हप्ताको २ उडान बैंकक भैरहवा सुरु गरेता पनि अहिले बन्द छ। लुम्बिनीमा श्रीलंका र थाइ सरकारद्वारा निर्मित बिहार रहेको छ। थाइ सरकार द्वारा निर्मित राजकीय थाइ बिहार लुम्बिनीमा रहेका बिहारहरु मध्ये निकै आकर्षक मानिन्छ। लुम्बिनी आउने जो कोही त्यहाँ पुग्ने गर्दछन् ।

