
भैरहवा, ७ असार। रुपन्देहीको भैरहवामा सुरु भएको टी–१० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा आयोजक प्रोफेसनल मास्टर्स–११ र टिम रेस्पोन्स लुम्बिनी विजयी भएका छन्।
सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको प्रोफेसनलले मायादेवी क्रिकेट एकेडेमीलाई ६१ रनले पराजित गर्यो। ६ विकेट गुमाएर १ सय ५ रनको बलियो योगफल बनाएका प्रोफेसनलका लागि भुवन गैरेले ३६, सुरज खड्काले अविजित १६ र मेहफोज आलमले १२ रनको योगदान दिए। मायादेवीका निरज मौर्य, अर्जुन करौस र आरिफ खानले समान २–२ विकेट लिए।



जवाफी ब्याटिङ गरेको मायादेवीले निर्धारित खेलमा जम्मा ४४ रनमै समेटियो। उसलाई सस्तैमा समेट्नका लागि प्रोफेसनलका जयप्रताप यादवले २ तथा करण केवट, अख्तर हुसेन र सुरज खड्काले समान १–१ विकेट लिए। मायादेवीका ननदलाल यादवले अविजित २६ र निरज मौर्यले १४ रन बनाए। प्रोफेसनलका जयप्रताप यादव प्लेयर अफ द म्याच बने।
यस्तै, शनिबार भएको दोस्रो खेलमा टिम रेस्पोन्स लुम्बिनीले मर्निङ क्रिकेट क्लबलाई ३ रनले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको टिम रेस्पोन्सले ६ विकेट गुमाएर ८९ रन बनायो। उसका लागि जावेद खानले ७३ रनको योगदान गरे। बलिङमा मर्निङ क्रिकेट क्लबका प्रवेज अन्सारीले ३, सिजन मकाजुले २ र आकाश थापाले १ विकेट लिए। जवाफमा मर्निङ क्रिकेट क्लबले ४ विकेट गुमाएर ८६ रन मात्रै जोड्न पुग्यो। उसका लागि अनिल जैसवारले ३० र दामोदर शर्माले २० रन बनाए। बलिङमा टिम रेस्पोन्सका फरहाद खानले २ विकेट लिए। खेलमा टिम रेस्पोन्स लुम्बिनीका जावेद खान प्लेयर अफ द म्याच भए।
प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब, भैरहवाको आयोजनामा असार ९ गतेसम्म संचालन हुने प्रतियोगितामा रुपन्देहीका क्लब र एकेडेमीहरु गरी १४ वटा टीम सहभागी छन्।
प्रतियोगिताको विजयी टिमले ८० नगद र उपविजेताले नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, सेमिफाइनल पुग्ने दुईवटा टिमलाई नगद १०–१० हजार प्रदान गरिने छ । आयोजकका अनुसार प्रतियोगितामा म्यान अफ द सिरिजलाई नगद १२ हजार, बेस्ट ब्याटर र बलरलाई नगद ८–८ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार दुई सय रुपैयाँ प्रदान गरिने छ। यस्तै, उत्कृष्ट क्याच र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत समान २ हजार ५ सय तथा दर्शकदिर्घाबाट छक्का क्याच गर्ने दर्शकलाई पाँच सय रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।