


काठमाडौं, ९असार। रोजगारीको अभावले गर्दा नेपाली युवाहरु ठूलो संख्यामा विदेशी भूमिमा पुग्न थालेका छन्। चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको अवधिमा मात्रै ७ लाख ६० हजारभन्दा बढी नेपाली युवा वैदेशिक रोजगारीका लागि विदेशिएका छन्।
वैदेशिक रोजगार विभागका अनुसार, जेठ महिनामात्रै ७४ हजार ४ सय ६७ जनाले श्रम स्वीकृति लिएका छन्। औसतमा प्रत्येक महिनामा ६९ हजार १ सय २६ जनाले वैदेशिक रोजगारीको बाटो रोजिरहेका छन्।

तथ्यांक अनुसार यस वर्ष सबैभन्दा धेरै यूएईमा रोजगारीका लागि युवाले श्रम स्वीकृति लिएका छन्। जेठमा महिनामा मात्र यूएईमा २४ हजार ७ सय ४ जनाले श्रम स्वीकृति लिएका छन्।
साउदी अरबमा ११ हजार ९ सय ६१ र कतारमा ११ हजार ९१ जनाले कामका लागि जाने अनुमति लिएका छन्। मलेसिया लगायत अन्य खाडी राष्ट्रहरु पनि नेपाली कामदारका प्रमुख गन्तव्य बनेका छन्।
देशभित्र रोजगारीको अभाव, तलबको असमानता र भविष्यको अनिश्चितताकारण युवाहरु बिदेशिने क्रम रोकिएको छैन।
विभागका अनुसार साउनमा ५९ हजार ५७५ जना, भदौमा ५७ हजार ४९३ जना, असोजमा ५३ हजार ५२५ जना, कात्तिकमा ७० हजार ९९०, मंसिरमा ८४ हजार २२६, पुसमा ६७ हजार २५८, माघमा ७२ हजार ४४१, फागुनमा ६८ हजार ९६३,चैतमा ७३ हजार ४०३, वैशाखमा ७८ हजार ०५०, जेठमा ७४ हजार ४६७ जनाले श्रम स्विकृती लिएका छन् ।

