


काठमाडौं,१०असार। सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली श्रमिकहरुको न्यूनतम तलब १ हजार दिराम वा सोभन्दा बढी हुने निर्णयलाई कार्यान्वयनमा ल्याएको छ। यो निर्णय राजपत्रमा प्रकाशित सूचनामार्फत सार्वजनिक भएको हो।
यस नयाँ व्यवस्थाअनुसार अब कुनै पनि म्यानपावर कम्पनीले तोकिएको भन्दा कम तलबमा नेपाली कामदारलाई यूएई पठाउन पाउने छैनन्। सरकारले गत जेठ महिनामै यो पारिश्रमिक बढाउने निर्णय गरेको थियो। राजपत्रमा प्रकाशित भएसँगै यसले कानुनी मान्यता पाएको छ।

नयाँ मापदण्डअनुसार, १ हजार दिरामभन्दा कम सुविधाको मागपत्रलाई सरकारले प्रमाणीकरण गर्ने छैन। यसअघि यूएईमा अदक्ष कामदारका लागि न्यूनतम पारिश्रमिक ८ सय दिराम तोकिएको थियो।
नयाँ तलबमान अनुसार, अदक्ष कामदारका हकमा न्यूनतम पारिश्रमिक १ हजार दिराम, मासिक खाना खर्च ४ सय दिराम वा त्यसभन्दा माथि गरी कुल १ हजार ४ सय वा त्यसभन्दा माथि हुनुपर्ने छ ।
अर्धदक्ष कामदारका हकमा १ हजार २ सय वा त्यसभन्दा माथि पारिश्रमिक, खाना खर्च ४ सय दिराम गरी कुल १ हजार ६ सय वा त्यसभन्दा माथि हुने गरी तोकिएको छ
त्यस्तै दक्ष कामदारका हकमा न्यूनतम पारिश्रमिक १ हजार ५ सय दिराम, खाना खर्च ४ सय वा त्यसभन्दा माथि गरी कुल १ हजार ९ सय दिराम हुनुपर्छ।
उच्च दक्ष कामदारका हकमा न्यूनतम पारिश्रमिक ६ हजार वा त्यसभन्दा माथि हुनुपर्ने छ। यसमा खाना खर्च ४ सय जोडेर ६ हजार ४ सयभन्दा माथि हुनुपर्ने समेत सूचनामा उल्लेख छ।


