
भैरहवा,११असार। रुपन्देहीको मायादेवी गाउँपालिकामा बेथिती मौलाउँदै गएको छ। कहिले माटो काण्ड त कहिले विदा स्विकृत नगराई विदेश गएका कर्मचारी फर्किएर एकैपटक कामै नगरेको दिनको पनि हाजिरी गरेको काण्ड।
अनुदानमा कृषि उपकरण नदिई अर्कैको औँठा छाप लगाएर बुझेको भनी किर्ते भर्पाइ बनाएर भुक्तानीको विषयामा अख्तियारले अनुसन्धान गरिरहेकै छ । त्यसैमाथी मंहगो मूल्यमा मानिस (लेबर) लगाएर बोरिङ जडान गरिएको भन्दै सस्तो मूल्यमा मेसिन मार्फत जडान गरिएको विषय पनि चर्चा चलिरहेकै छ। कार्यालयमा कामै नगराई कार्यालय सहयोगी पदमा एक जनालाई मासिक तलब सुविधा दिदैं आएको अर्को नियमित काण्ड त छदैँछ । मायादेवीमा यस्ता काण्ड त कति हो कति ? भनिसाध्यै छैन।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

पालिका अध्यक्ष धुव्रनारायण चौधरीलाई पालिकामा यसरी घुमाईँदैछ कि दुधे बालबालिकाको सुविधाका लागि खोप केन्द्रमा जडान गरिएको एसी कर्मचारीले ‘नागरिकबाट खोसेर’ आफ्नोको सुविधाका लागि आफ्नो कार्यकक्षमा लगाउँदा समेत उनी चुपचाप छन्।

जनताबाट चुनिएका जनप्रतिनिधिले जनताकै सुविधाका लागि लगाईदिएको एसी कर्मचारीले त्यहाँबाट लगेर आफ्नो कार्यकक्षमा लगाउँदा पनि उनले जनतको हितमा एसी फिर्ता गराउन सकेका छैनन्।
०७७ सालमा नागरिक/बालबालिकाको सुविधाका लागि गाउँपालिकाले वडा नं. ८ बसडिलवामा वातावरण अनुकल कक्ष एसी र स्वास्थ्य परिक्षण सहितको खोप केन्द्र संचालनमा ल्याएको थियो। पालिका अध्यक्ष चौधरीकै उपस्थितीमा नेपालकै पहिलो एसीसहितको खोप केन्द्र संचालनमा ल्याइएको भन्दै तामझामका साथ उद्घाटन गरिएको थियो।

उपलब्ध गराइएको एसीसहितको खोप सेवाको विषयमा सबैले राम्रो पनि भने। उखरमाउलो गर्मीमा दुधे बालबालिका काँखमा च्यापेर खोप लगाउन केन्द्रमा पुग्दाँ नागरिकले राहातको महसुस गरे। पालिकाले पनि नागरिकको पैसा नागरिककै हितमा लगानी गर्दा सबैतिरबाट वाहवाही पनि बटुल्यो। एसीसहित खोप केन्द्र संचालनमा ल्याउँदा मायादेवी जिल्लाभरमा प्रथम हुनमा मद्दत समेत पुग्यो।
तर, त्यही खोप केन्द्रबाट अहिले उक्त एसी गायब छ। जनप्रतिनिधिले नागरिकको पैसा नागरिककै हितमा लगाउँदा आधारभूत स्वास्थ्य केन्द्र मतकोलहवाका प्रमुख भाष्कर आत्रेयले उक्त एसी खोप केन्द्रबाट निकालेर मतकोलहवा स्थित आफ्नो कार्यकक्षमा लगेर लगाएको स्थानीयको गुनासो छ।
खोपकेन्द्रमा नातीलाई खोप लगाउन आएकी मायादेवी गाउँपालिका-८ की शर्मिला विकले बालबालिकाको सुविधाका लागि जडान गरिएको एसी कर्मचारीले लगेको विषय राम्रो नभएको बताइन् । उनले भनिन्-‘यहाँ (खोप केन्द्र) एसी पनि जडान गरिएको विषय मलाई थाहा त थिएन । तर, बालबालिकाको सुविधाका लागि एसी जडान गरिसकेका थिए भने निकालेर लैजानु राम्रो होइन् ।’ खोपकेन्द्रमा प्रत्येक महिनाको दश गते बालबालिकाहरुलाई विभिन्न प्रकारको खोप लगाइने गरिएको छ ।

त्यहाँ (खोप केन्द्र) झ्याल र ढोका काठको भएकाले एसी त्यती उपयुक्त नभएपछि वडाअध्यक्षको मौखिम सहमतिमा यहाँ (आधारभूत स्वास्थ्य केन्द्र) लगाइएको प्रमुख आत्रेयले बताए । तर, ०७७ सालमा पालिकाले काठको झ्याल र ढोका रहेकै अवस्थामा एसी लगाएर वाहवाही बटुलेको थियो। विगत करिब दुई वर्ष देखि नेपालकै पहिलो एसीसहितको खोपकेन्द्रमा एसी छैन। तर, चासो कसैलाई छैन।

जनताको सुविधाका लागि खोपकेन्द्रमा लगाइएको एसी कर्मचारीले लगेर आफ्नो कार्यकक्षमा लगाउनु उपयुक्त नभएको मायादेवी गाउँपालिका–८ का वडाअध्यक्ष चोक बहादुर थापा बताउँछन्।
‘खोपकेन्द्रमा काठको झ्याल ढोका भएका कारण एसी उपयुक्त देखिएन भनेर स्वास्थ्य केन्द्रको सरले मसँग मौखिक भनौ वा व्यवहारिक रुपमा त्यो एसी खोपकेन्द्रबाट लगेर आफ्नो कार्यकक्षमा जडान गर्नु भएको हो, कुनै लिखित माग वा आदेश होइन’,उनले भने,‘तर, त्यो उपयुक्त त भएन भन्ने मैले मान्छु। जनताको सुविधाका लागि राखिएको एसी त्यहाँ हुनुपर्छ ।’

प्रमुख आत्रेय आधारभूत स्वास्थ्य केन्द्र हुनु अघि गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख थिए। उनी प्रमुख भएको बेला नै स्वास्थ्य परिक्षण र एसीसहितको खोपकेन्द्र संचालनमा ल्याइएको थियो। पालिकामा हुँदा एसीको चिसो हावा खाएर बसेका प्रमुख आत्रेयको मतकोलहवा स्थित स्वास्थ्य केन्द्रमा सरुवा भएपछि गर्मीले आत्तिएका उनले खोपकेन्द्रमा लगाइएको एसी काठको झ्याल ढोकाका कारण उपयुक्त नभएको भन्दै आफ्नो कार्यकक्ष ल्याएर लगाएका थिए।
‘झ्याल ढोका काठको भएको भन्दै कर्मचारीले एसी निकालेर लैजाने हो कि त्यहाँ आवश्यकता अनुसार मर्मत सम्भार वा अल्मुनियमको झ्याल,ढोका लगाएर जनतालाई सुविधा दिने हो ?’, सरोकारवाला प्रश्न गर्दै भन्छन्–‘आफै एसी लगाउने अनि आफै उपयुक्त भएन भन्दै निकालेर लैजाने ? स्थानीयसँग सरसल्लाह गरेर सुविधा थप्नुपर्नेमा भएको सामग्री पनि लैजाने ?’

काण्डमाथी काण्ड त्यसैमाथी भ्रष्टाचारको गन्ध समेत आइराख्ने मायादेवी गाउँपालिकाले वर्षौ अघि जनताको सुविधाका लागि लगाएको एसी निकालेर लगिदा समेत उक्त एसी फिर्ता वा जनताको सुविधाका लागि त्यहाँ अर्को एसी जडान गर्ने कुनै सुरसार देखाएको छैन।
वडाअध्यक्ष थापा भन्छन्–‘त्यहाँ एसी थियो र हुनुपनि पर्छ । अल्मुनियमको झ्याल ढोका लगाएर अब एसी लगाउनु पर्छ ।’


