
भैरहवा, ११ असार । भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा जारी ‘एशियन बुद्ध टी–१० क्रिकेट प्रतियोगिता’मा एशियन बुद्ध टिम फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको खेलमा एशियन बुद्धले न्यु होराइजनलाई ३४ रनले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो।
एशियन बुद्धले टस जितेर पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १२१ रनको बलियो लक्ष्य दिएको थियो। जवाफी इनिङ्समा न्यु होराइजनले ६ विकेट गुमाएर ८७ रन मात्र बनाउन सकेपछि पराजित हुन पुग्यो। खेलमा ७० रन बनाउनुका साथै १ विकेट लिएका देव खनाल ‘प्लेयर अफ द म्याच’ घोषित भए।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

त्यसैदिनको अर्को खेलमा तिरुपति क्रिकेट क्लबले लुम्बिनी खुकुरीलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो। खुकुरीले दिएको ७६ रनको लक्ष्य तिरुपतिले २ विकेट मात्र गुमाएर सहजै पुरा गर्यो। ४१ रन र १ विकेट लिएका बसिर अहमद खेलका उत्कृष्ट खेलाडी भए।
तेस्रो खेलमा प्रोफेसनल मास्टर्स–११ ले टीम रेस्पोन्स लुम्बिनीलाई ५१ रनले हराउँदै सेमिफाइनलमा पुगेको छ । टस जितेर ब्याटिङ रोजेको प्रोफेसनलले ४ विकेट गुमाएर १०१ रन बनायो। जवाफमा टीम रेस्पोन्स ५० रनमै अलआउट हुन पुग्यो। ३ विकेट लिँदै ७ रन बनाएका सुरज खड्का ‘प्लेयर अफ द म्याच’ घोषित भए।
प्रतियोगिताको सेमिफाइनलमा अब तिरुपति र प्रोफेसनल भिड्नेछन्। जहाँ विजेताले एशियन बुद्धसँग उपाधिका लागि खेल्नेछ।
प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब, भैरहवाको आयोजनामा भइरहेको प्रतियोगिताको विजेता टिमले ८० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेतालाई ४० हजार नगद पुरस्कार दिइनेछ । यस्तै, सेमिफाइनल टिमहरुलाई १०–१० हजार नगद प्रदान गरिनेछ।
प्रतियोगितामा म्यान अफ द सिरिजलाई १२ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई ८–८ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय, उत्कृष्ट क्याच र सर्वाधिक छक्का प्रहारकर्तालाई २५ सय र दर्शकदिर्घाबाट क्याच लिने दर्शकलाई ५ सय रुपैयाँ पुरस्कार रहेको आयोजकले जनाएको छ।

