


काठमाडौं,२६असार। नेकपा (माओवादी केन्द्र)को युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपालले ‘श्रम तथा उत्पादन अभियान’ सञ्चालन गर्ने भएको छ।
केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले आगामी साउन १ गतेदेखि दुईमहिनसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष पुष्प ओलीले जानकारी दिए।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अभियानको उद्घाटन गर्ने वाइसिएलले जनाएको छ। बैठकमा इन्चार्ज रामप्रसाद सापकोटाले सङ्गठनले गरेका निर्णय कार्यान्वयन गर्न र अभियानलाई सफल पार्न आग्रह गरे। वाइसिएलले विपद् व्यवस्थापनमा सक्रिय रुपमा खटिने गरी विपद् व्यवस्थापन समूह समेत गठन गरेको छ।
यस्तै वैदेशिक रोजगारमा हुने ठगी, सरकारी कार्यालय तथा निर्माण परियोजनामा हुने ढिला सुस्तीलगायत विरुद्ध दबाबमुलक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। त्यस्तै १६ देखि २५ वर्ष उमेर समूहका युवालाई लिएर ‘पोलिटिकल युथ कन्सर्ट’ आयोजना गर्ने वाइसिएलको तयारी छ।

