


काठमाडौं, २६ असार। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले अध्यागमन क्षेत्रभित्र खादा, माला तथा कुनै संस्था वा समूहको परिचय खुल्ने पोसाक र सामग्रीको प्रयोगमा प्रतिबन्ध लगाएको छ। कार्यालयले सार्वजनिक सूचना जारी गर्दै यो निर्णयबारे जानकारी गराएको हो।
सूचनामा उल्लेख गरिएअनुसार, अध्यागमन क्षेत्र सुरक्षाका दृष्टिले अत्यन्त संवेदनशील हुने हुँदा यस्ता सामग्रीको प्रयोगले प्रक्रियामा ढिलाइ गराउनुका साथै सुरक्षा जोखिम बढाउने सम्भावना रहेको छ।

नयाँ नियमअनुसार, अब सम्पूर्ण यात्रु, ट्राभल एजेन्सी र म्यानपावर कम्पनीहरूले खादा, माला वा अन्य सजावटी वस्तु (एक्सेसोरिज) प्रयोग गर्न पाउने छैनन्। यसका अतिरिक्त, कुनै संस्थाको नाम झल्काउने टोपी, ब्याच, पोसाक वा अन्य पहिचानजन्य सामग्री पनि निषेध गरिएको छ।
अध्यागमन कार्यालयले यस्ता वस्तुहरूले विशेष व्यवहारको संकेत दिने वा समानतामा प्रश्न उठाउने अवस्था सिर्जना हुन सक्ने भएकाले सबैलाई निष्पक्ष र एकरूप व्यवहार सुनिश्चित गर्न यो नियम लागू गरिएको स्पष्ट पारेको छ।
कार्यालयले सबै यात्रु, ट्राभल एजेन्सी तथा सम्बन्धित पक्षलाई नयाँ नियमको पालना गर्न अनुरोध गर्दै, यदि उल्लङ्घन भएको पाइएमा कानुनबमोजिम कारबाही हुने चेतावनी पनि दिएको छ।
हेर्नुहोस् सूचनाः


