


नेपालगञ्ज, ३१असार। भारतमा लुटपाट गरेर नेपाल आएका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालिकोटको नरहरिनाथ गाउँपालिका-९ की २८ वर्षीया सरिता शाही, रासकोट नगरपालिका-१ का ४२ वर्षीय मनबहादुर शाही, ४२ वर्षीय तेजबहादुर शाही, सान्नी त्रिवेणी गाउँपालिका-८ का १८ वर्षीय पंकज केसी, ३८ वर्षीय अनिता खत्री र ४५ वर्षीय प्रेमबहादुर खत्री छन्।
पक्राउ परेका आरोपीहरुले भारतको दिल्लीमा एक घरबाट सुन र नगद चोरी गरेर बाँकेको कोहलपुर नगरपालिका-११ स्थित होटल न्यु कालिकोटेमा बसेका थिए। पक्राउ परेका मध्ये सरिता शाही दिल्लीमा चोरी भएको घरमा काम गर्दै आएकी थिइन्।

इलाका प्रहरी कार्यालय कोहलपुर प्रमुख डीएसपी लक्ष्मी खनालका अनुसार शाही काम गर्ने क्रममा परिवारको विश्वास जितेपछि उनको योजना अनुसार कालिकोटबाट उनले अन्य व्यक्तिहरुलाई बोलाएर सुनका गरगहना र नगद चोरी गरेर नेपाल फर्किएको प्राराम्भिक अनुसन्धानमा पाइएको छ।
पक्राउ परेका आरोपीहरुको साथबाट १५ तोला सुनका गरगहना (लालपत्थरसहित) र सात लाख ८७ हजार रुपैयाँ बरामद उनले बताइन्। आरोपीहरुलाई नियन्त्रणमा लिएर जिल्ला अदालत बाँकेमा सात दिनको म्याद लिएर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

