


बुटवल, ७ साउन । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नेकपा एमालेलाई विभाजन गर्न खोज्नेहरुको प्रयास असफल भएको बताएका छन्।
पुष्पलाल स्मृति दिवसको अवसरमा बुटवलमा एमालेले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पौडेलले राष्ट्रपति जस्तो पदमा आसिन भइसकेको व्यक्ति पार्टी राजनीतिमा आउनु उपयुक्त नहुने एमाले भनेर केन्द्रीय कमिटीको एकमतको निर्णयले विभाजन चाहनेहरुको सपनामा तुहिएको बताए।

‘एमाले पार्टी विभाजनमा भूमिका खेलेकाहरुले अहिले फेरि पनि विभाजन गर्न सकिन्छ कि भनेर कोसिस गरिरहेका थिए। तर पार्टीले एकमतले निर्णय गरेपछि उनीहरुको सपनामाथि तुषारापात भएको छ’, उनले भने,‘पार्टीभित्र अस्थिरता मच्चाउने र विभाजनको कोसिस गर्ने तत्वहरु सपना विफल भएको छ।’
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण प्रक्रिया नमिलेको उनको भनाइ छ । ‘सदस्यता नवीकरण गर्ने व्यवस्था हाम्रो पार्टीमा छैन । सदस्यता त्यागेको व्यक्तिको नवीकरण हुने होइन, नयाँ प्रक्रियाबाट जानुपर्छ । उहाँको सदस्यता स्थगित होइन, परित्याग हो । जुन चिज कायम छैन, त्यसको नवीकरण हुँदैन भन्ने प्रष्ट हुनुपर्छ’,उनले भने।
केन्द्रीय कमिटीले विधान संशोधनका लागि प्रस्तावित मस्यौदा पारित गरिसकेकाले सबैको सुझाव समेटिने भन्दै छिटो सुझाव दिन उनले आग्रह समेत गरे।
अर्थमन्त्री पौडेलले चौतर्फी हमलाका बाजुद पनि सरकार आफ्नो मिसनमा अगाडि बढिरहेको पनि बताए । उनले काँग्रेस–एमाले गठबन्धन मुलुकमा सुशासन र स्थिरता दिनका लागि निर्माण गरिएको भन्दै आगामी ०८४ सम्मै यो गठबन्धन कायम रहने पनि बताए ।

