
काठमाडौं,८साउन। भारतमा नेपाली नागरिकलाई बन्धक बनाएर अनलाइन ठगी गर्न बाध्य बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका-६ का २४ वर्षीय राजकुमार अच्छामी र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१४ का ४५ वर्षीय रेशम बहादुर खत्री रहेको प्रहरीले जनाएको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

मानव बेचबिखन तथा ओसारपसार अनुसन्धान ब्युरोको प्रारम्भिक अनुसन्धानमा उनीहरु मानव तस्करीमा संलग्न रहेको देखिएको छ।
पीडितको बयानअनुसार, पक्राउ परेका आरोपीहरुले उनलाई भारतमा चालकको रुपमा मासिक ३५,००० भारु तलब, खाना, बस्न र ओभरटाइमको प्रलोभन देखाई रोजगारी दिने आश्वासन दिएका थिए। गत वैशाख १९ गते काठमाडौंको बल्खुबाट वीरगञ्ज पुर्याइएका पीडितलाई रेशम खत्रीले त्यहाँबाट अटो रिक्सामा भारतको रक्सौल हुँदै पटनासम्म पुर्याएका थिए।
पटनास्थित वेल स्टार डाइनामिक कम्पनीमा पीडितबाट प्रतिव्यक्ति दश हजार भारु असुल गरी ७ दिनसम्म तालिमको नाममा बन्धक बनाइएको थियो। उक्त अवधिमा उनलाई मोबाइलमार्फत फेसबुकमा अन्य नेपालीलाई बोलाउन लगाई अनलाइन ठगी कार्यमा संलग्न गराइएको प्रहरीले जनाएको छ। पीडितलाई करिब २ महिनासम्म सम्पर्कविहीन बनाएर बन्धक राखी मानसिक र शारीरिक यातना दिइएको प्रहरीको भनाइ छ।
नेपाल फर्किएपछि पीडितले ब्युरोमा उजुरी दर्ता गराएका थिए। त्यसपछि, २०८२ साउन ५ गते राजकुमार अच्छामीलाई काठमाडौंको बल्खुबाट र रेशम खत्रीलाई वीरगञ्जबाट पक्राउ गरिएको हो। हाल काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

