
भैरहवा,१२ साउन। लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्ष २०८१/०८२ मा कार्यसम्पादनमा उल्लेखनीय सुधार गरेको छ। विगतका आर्थिक बर्षहरुको तुलनामा आर्थिक बर्ष २०८१/०८२ मा कार्यसम्पादनमा उल्लेखनीय सुधार गरेको हो। मन्त्रालयले शिक्षाको गुणस्तर सुधारमा पनि लागेको देखिएको छ।
मन्त्री जन्मजय तिमिल्सिनाले अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्षको एसईई परीक्षाको नतिजामा उपलब्धि हासिल गर्न सकिएकोमा खुसी व्यक्त गरे। उनले चालु आर्थिक वर्षमा सामुदायिक विद्यालयका शिक्षकलाई अझ जिम्मेवार र विद्यार्थीलाई थप मिहिनेती बनाउने उद्देश्यका साथ शैक्षिक कार्यक्रम र योजनाहरु ल्याइएको बताए।
Advertisement

Advertisement
Advertisement

विगतका अनुभवलाई आधार मानेर भविष्यका लागि परिपक्व योजना बनाइएको र बजेटको दुरुपयोग नियन्त्रण गरी योजनाहरुलाई मितव्ययी र पारदर्शी बनाइने उनको भनाई छ।
त्यस्तै विगतका आर्थिक वर्षहरुको तुलनामा मन्त्रालयले खर्च दक्षता र योजना कार्यान्वयनमा प्रगति हासिल गरेको हो। उनका अनुसार, मन्त्रालयले आर्थिक वर्ष २०८०/०८१ को तुलनामा गत आर्थिक वर्षमा ८ प्रतिशतले खर्चमा सुधार गरेको छ । जसले कामलाई थप चुस्त, दिगो, पारदर्शी र परिणाममुखी बनाएको छ।
भैरहवामा आयोजित आर्थिक वर्ष २०८१/०८२ मा सम्पादित कार्यक्रमको समीक्षा सहितको पत्रकार भेटघाट कार्यक्रममा प्रस्तुत तथ्यांक अनुसार मन्त्रालयले चालु र पुँजीगत दुवै खर्चमा वृद्धि गरेको छ। अघिल्लो वर्ष कुल बजेटको ६१.५ प्रतिशत खर्च गरेकोमा आर्थिक वर्ष २०८१/०८२ मा ६९.१ प्रतिशत खर्च गर्न सफल भएको छ। मन्त्रालयका उपसचिव रामहरि रिजालका अनुसार, चालु खर्च ७१.७ प्रतिशत (अघिल्लो वर्ष ६४.३ प्रतिशत) र पुँजीगत खर्च ६५.२ प्रतिशत (अघिल्लो वर्ष ४९.५ प्रतिशत) पुगेको छ।
मन्त्री तिमिल्सिनाले आफूले कार्यभार सम्हाल्दा खर्च प्रगति १० प्रतिशतभन्दा कम रहेको र योजनाबद्ध कामले खर्चमा सुधार आएको बताए। उनले कार्यसम्पादनमा चुस्तता, पारदर्शिता र गुणस्तर कायम गर्न आवश्यक ऐन, नियम र कार्यविधिहरु पनि तर्जुमा गरिएको जानकारी दिए।
मन्त्रालयको तथ्यांकअनुसार, अघिल्लो वर्ष सञ्चालित कुल ४१९ आयोजनामध्ये २८३ वटा सम्पन्न भएका थिए भने ११४ वटा चालु अवस्थामा थिए र २२ वटाको काम हुन सकेको थिएन। आर्थिक वर्ष २०८१/०८२ मा भने ९५७ वटा आयोजनामध्ये ५२६ वटा सम्पन्न भइसकेका छन्। ३४८ वटा चालु अवस्थामा र ८३ वटा आयोजनाको काम हुन बाँकी छ।
मन्त्रालयका सचिव बसन्तप्रसाद कोइरालाले आर्थिक वर्ष २०८१/०८२ मा लुम्बिनी प्रदेशका विद्यालयहरुको संरचना सुधारका लागि महत्वपूर्ण कार्यहरु भएको बताए। यस अवधिमा ३९० वटा नयाँ कक्षा कोठा (भवन) निर्माण, ५० वटा शौचालय निर्माण, ८२ वटा विद्यालय भवन मर्मत, १२ वटा सूचना प्रविधि ल्याब स्थापना, ११ वटा विज्ञान प्रयोगशाला निर्माण र ४ वटा पुस्तकालय भवन निर्माण गरिएको छ।
उनका अनुसार, गत वर्ष लुम्बिनी प्रदेशका मन्त्रालयहरुमध्ये बजेट खर्च गर्नेमा सामाजिक विकास मन्त्रालय चौथो स्थानमा रहेको छ। आगामी वर्ष मन्त्रालयले आफ्ना कामहरुलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउने प्रतिबद्धता जनाए।

