


भैरहवा, १४ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म संसदमा विरोध जारी राख्ने निर्णय गरेको छ।
बुधबार भैरहवामा बसेको रास्वपा संसदीय दलको बैठकले भिजिट भिसाको आवरणमा भ्रष्टाचार र बेतिथि मौलाएको निष्कर्ष निकाल्दै संसदीय छानबिन समिति गठन नभएसम्म संसदमा विरोध जारी राख्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

बैठकले संसदमा जारी आन्दोलनलाई फराकिलो बनाउँदै सडकबाट समेत आन्दोलन गर्ने निर्णय गरेको उनले बताए।
यस्तै बैठकले भूमि, निजामती, शिक्षा लगायतका विधेयकमाथि संसद्को क्षेत्राधिकारलाई तोडेर आक्रमण भएको भन्दै संसदमा सशक्त भएर आवाज उठाउन समेत सांसदहरुलाई निर्देशन दिइएको परियारले बताए।
बैठकले लुम्बिनी प्रदेशका जनताले भोग्नुपरेका समस्या, लुम्बिनीको पर्यटन क्षेत्रमा देखापरेका अप्ठ्यारा लगायतका विषयलाई संसदमा लैजाने निर्णय गरेको छ। यस्तै बैठकले प्रवासी नेपालीहरुको मताधिकारको व्यवस्थाको कार्यान्वयनका लागि समेत सरकारसँग माग गरेको छ।

