


काठमाडौं,१५ साउन। संस्कृति,पर्यटन तथा नगरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थललाई राष्ट्रिय गौरवका संरचनाको रुपमा राख्नुपर्ने बताएका छन्।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले मन्त्रालय अन्तरगतका राष्ट्रिय गौरवका आयोजनाको विषयमा आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले मन्त्रालय अन्तरगत पाँच आयोजना रहेको भएपनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थल निर्माण सम्पन्न भइसकेकोले यी दुई आयोजना अब राष्ट्रिय गौरवका संरचनामा राख्नुपर्ने बताएका हुन्। उनले भने, ‘देशले अब यी आयोजनालाई राष्ट्रिय गौरवका संरचनामा राख्दै यी आयोजनाबाट फाइदा लिनुपर्छ।’

यस्तै पशुपति र लुम्बिनीको गुरुयोजना अनुसार काम अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको मन्त्री पाण्डेको भनाइ छ। निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई राष्ट्रिय गौरव आयोजनाको रुपमा राखेको भएपनि यो निर्माणमा नै अन्योल रहेको उनको भनाइ छ।
भैरहवा र पोखरा विमानस्थल नचल्नुमा रुटको समस्यामात्र नभइ सरकारका कतिपय निकायले नै सरकारले तयार पारेको कार्ययोजना लागू नगर्दा समस्या आएको उनको भनाइ थियो।

