


भैरहवा, ५ भदौ। लुम्बिनी प्रदेश सरकारले बड्का अत्तवारी पर्वको अवसरमा आइतबार (भदौ ८ गते) ६ जिल्लामा सार्बजनिक बिदा दिएको छ।
प्रदेशको सूचना आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार थारु समुदायको बसोबास बढी रहेको दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिइएको छ।

थारू समुदायमा महत्वका साथ मनाइने बड्का अत्तवारी पर्व यस वर्ष भदौ ८ गते आइतबार परेको छ। यो पर्वमा थारु समुदायका पुरुषहरु उपवास ‘ब्रत’ बस्ने प्रचलन छ। यो पर्वमा निराहार व्रत बसी सूर्यको पूजा गरी मनाइने साँस्कृतिक मान्यता छ।
थारू समुदायले सूर्यलाई उज्यालोको प्रतीकको रुपमा मान्दै आएका छन्। पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि बड्का अत्तवारी पर्व मनाउने प्रचलन छ। कुशे औंसीपछिको पहिलो आइतबार यो पर्व मनाउने गरिन्छ ।

