


भैरहवा, १८ भदौ । सुरक्षाको दृष्टिकोणले निकै संवेदनशील मानिने रुपन्देहीको बेलहिया (भैरहवा) नाकामा थप व्यवस्थित र प्रभावकारी रुपमा एकीकृत चेकजाँच बिन्दु (आईसिपी) संचालन गरिने भएको छ ।
आईसिपी संचालनमा देखिएका चुनौतीहरु समाधान गर्दै थप व्यवस्थित र प्रभावकारी रुपमा संचालनका लागि सरकारी निकायको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

रुपन्देहीका तत्कालिन प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको पालामा भैरहवा नाका हुँदै नेपाल प्रवेश हुने पर्यटकहरुको सहजताका लागि नाकामा एकीकृत चेकजाँच बिन्दु स्थापना गरिएको थियो । जहाँ प्रवेश बिन्दुमै पर्यटक, गाडी, सामाग्री लगायतको आवश्यक सुरक्षा चेकजाँच गरी गाडीमा स्टिकर टाँस गरिएपछि जिल्लाको अन्यत्र स्थानमा पुनः चेकजाँच नहुने व्यवस्था मिलाइएको थियो ।
तर, ठाउँठाउँमा सुरक्षा चेकजाँच गरेर पर्यटकलाई दुःख दिने गरेको, संघीय सरकारले चालु बजेट वक्तव्यमार्फत खारेज गरेको भारत हुँदै अस्थायी रुपमा मुलुक प्रवेश गर्ने सवारीसाधनधनीसँग प्रदेश सरकारले रुट इजाजत भन्दै राजस्व असुली गरेपछि स्थानीय व्यवसायी, जनप्रतिनिधिहरुले असन्तुष्टि जनाएका थिए ।
यही आईसिपी संचालनका लागि जिल्ला समन्वय समिति प्रमुख उमाकान्त चपाईँ, प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डे, सिद्धार्थनगरका मेयर इश्तियाक अहमद खान, उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका सचिव नारद गौतम, सुरक्षाका निकाय प्रमुखहरु लगायतको उपस्थितीमा बसेको बैठकले जिम्मेवारी बाँडफाँड गर्दै थप व्यवस्थित र प्रभावकारी आईसिपी व्यवस्थापनका लागि पाँच बुँदे निर्णय गरेको छ ।
सरोकारवालाहरु निकायहरुले तोकिएको जिम्मेवारी र पूर्व तयारीका कार्य सम्पन्न गरेर अगामी असोज १ गते देखि थप व्यवस्थित र प्रभावकारी रुपमा आईसिपी संचालन गर्ने निर्णयमा उल्लेख छ ।
‘बेलहिया नाका हुँदै नेपाल प्रवेश गर्ने पर्यटकहरुको सहजताका लागि विभिन्न निर्णयहरु गरेका छौं’ प्रमुख जिल्ला अधिकारी पाण्डेले भने, ‘बैठकले सबैको जिम्मेवारी बाँडफाँड गरेको छ र अब पर्यटकहरुले दुःख पाउँदैनन् ।’
उनका अनुसार नाकामा सुरक्षा जाँच गरेर गाडीमा स्टिकर लगाइएपछि रुपन्देही जिल्लाको अन्यत्र ठाउँमा पुनः जाँच हुँदैन । हाललाई रुपन्देहीमा यो व्यवस्था भएपनि पर्यटकको सहजताका लागि अन्य जिल्लामा पनि समन्वय गरिने उनले बताए । नाकामा गाडी चेकजाँच भएतापनि प्रहरी सजग रहनुपर्ने सरोकारावालाहरुको सुझाव छ ।
बैठकले प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयलले जनशक्ति, सबै चेकजाँच स्टिकर, अन्य निकायसँग समन्वय गर्ने र आवश्यकता अनुसार साधन स्रोत उपलब्ध गराउने निर्णय गरेको छ ।
त्यस्तै जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षाको प्रबन्ध, अन्तर निकाय समन्वय र सहजिकरण, अनुगमन, मूल्यांकन र समन्वय गर्ने, सिद्धार्थनगर नगरपालिकाले पूर्वाधार चेकजाँच कक्षको निर्माण गर्ने, खानेपानी र सरसफाइको प्रबन्ध गर्ने, सीमा क्षेत्रको सौन्दर्यीकरण गर्ने, आवश्यकता अनुसार स्रोत साधन उपलब्ध गराउने, सुरक्षा निकालयहरुले चेकजाँच गरी स्टिकर जानी गर्ने, समन्वयात्मक रुपमा जनशक्ति उपलब्ध गराउने, अन्तर निकाय समन्वय र सहजीकरण गर्ने, भैरहवा भन्सार कार्यालयले भन्सार परिसरको सौन्दर्यीकरण, सेवाग्राही मैत्री संरचना निर्माण, अन्य निकायसँग समन्वय गर्ने निर्णय भएको छ ।
यस्तै आईसिपीबाट प्रवाह गरिने सेवाका अनुगमनका लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा ८ सदस्यीय (सरकारी कार्यालयका प्रतिनिधि) समिति गठन गरिएको छ ।
समितिले अनुगमन गरी प्रदान गरेको आवश्यक पृष्ठपोषणका आधारमा आईसिपीलाई प्रभावकारी र व्यवस्थित रुपमा संचालन गर्न सरोकारवालाहरुको बैठकले थप निर्णय गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

