


काठमाडौं, २० भदौ । नेपालमा सूचीकृत विनानै संचालनमा रहेको सामाजिक संजाल सरकारले बन्द गरेपछि सामाजिक संजालका कम्पनीहरु सरकारको सम्पर्कमा आउन थालेका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सर्वोच्चको आदेश र मन्त्रिपरिषद्को निर्णय बमोजिम २६ वटा सामाजिक सञ्जाललाई बन्द गर्न निर्देशन दिएको थियो। त्यसको कार्यान्वयन गर्दै दूरसञ्चार प्राधिकरणले ती सामाजिक सञ्जालहरु निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको थियो। जस अनुसार देशमा उक्त सामाजिक संजालहरु निष्क्रिय भएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरका अनुसार निष्क्रियको निर्णय पश्चात हाम्रो पात्रो र एक्स कम्पनी सम्पर्कमा आएका छन् ।
उनले हाम्रो पात्रोले सूचीदर्ताका लागि बिहीवार निवेदन दिएको र एक्स कम्पनीले आधिकारिक रुपमा सूची दर्ताका लागि आवश्यक प्रक्रिया र कागजात माग गरेको बताए ।
‘शुक्रवार एक्स कम्पनीले आधिकारिक रुपमा सूचीदर्ताका लागि आवश्यक प्रक्रिया र कागजातको विषयमा जानकारी माग गरेको थियो’,उनले भने, ‘सूचीकरण प्रकियाबारे हामीले जानकारी गराएका छौं ।’ तर, हालसम्म एक्सले नेपालमा दर्ताको लागि कुनै आधिकारिक निवेदन भने दिएको छैन ।
मेटाले अनौपचारिक रुपमा सम्पर्कमा आएर सूचीकरणका लागि आवश्यक कागजातबारे बुझेको सञ्चार मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार शुक्रबार नै चिनियाँ सामाजिक सञ्जाल कम्पनी वी च्याटले समेत सरकारसँग सम्पर्कमा आएर सूचीकरणको प्रक्रियाबारे जानकारी मागेको छ।
सरकारले बन्द गर्न निर्देशन दिएकामध्ये युट्युब, लिंक्ड इन, स्न्याप च्याट, रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, कोरा, सम्ब्लर, क्लब हाउस, मास्टो डन, रम्बल, मि वी, मि भिके, लाइन, इमो, जालो र सोल सम्पर्कमा आएका छैनन्।

