


लुम्बिनी,२१भदौ। भारतका प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन्। शनिबार लुम्बिनी भ्रमणमा आएका प्रधानन्यायाधीश गवईलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, सदस्यसचिव सानुराजा शाक्य, कार्यकारी सदस्य श्याम रोक्का, वरिष्ठ प्रशासन प्रमुख ज्ञानिन राईसहित कोषका कर्मचारीहरुले स्वागत गरेका थिए ।
भ्रमणका क्रममा गवईले लुम्बिनी क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्वबारे जानकारी लिदै मायादेवी मन्दिर परिसरमा पुगेर बुद्ध अवलोकन गर्दै शुत्रपाठ गरे। साथै, विश्व शान्ति, मानव कल्याण, नेपालको प्रगति र भारत–नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ होस् भन्ने कामना गर्दै दियो प्रज्वलनसमेत गरेका थिए।

लुम्बिनी भ्रमणपछि गवईले लुम्बिनी विकास कोषका पदाधिकारीहरुसँग गुरुयोजना र हाल सञ्चालनमा रहेका विकास–निर्माणका गतिविधिबारे चासो राखेका थिए। उनले लुम्बिनीलाई अन्तर्राष्ट्रियस्तरमा थप प्रचार–प्रसार गर्न नेपालले गरेको प्रयासको प्रशंसा गर्दै यस क्षेत्रमा भारतको सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरे।
नेपालमा आयोजना हुने ‘नेपाल–इन्डिया जुडिसियल डाइलग’ कार्यक्रममा सहभागी हुन आएको अवसरमा उनी लुम्बिनी आएका हुन् । उक्त कार्यक्रममा नेपाल र भारतका न्यायाधीश तथा विधिवेत्ताबीच आपसी अनुभव आदान–प्रदान, न्याय क्षेत्रका चुनौती तथा सम्भावनाबारे छलफल गरिएको थियो।
प्रधानन्यायाधीश गवईको यस भ्रमणले लुम्बिनीमार्फत नेपालको पर्यटन, साँस्कृतिक र धार्मिक महत्व अझै उच्चस्तरमा पुग्ने विश्वास लुम्बिनी विकास कोषले व्यक्त गरेको छ। भारतको न्यायपालिकाको सर्वोच्च जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो नेपाल यात्रा हो । उनले लुम्बिनी आगमनलाई विशेष आध्यात्मिक अवसरका रूपमा लिएको जनाए ।

