


काठमाडौं,१८ असोज। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भारी देखि अतिभारी वर्षाको सम्भावना रहेकोले असोज २० गतेसम्म उच्च सर्तकता अपनाउनका लागि अनुरोध छ।
महाशाखाका अनुसार अविरल वर्षाका कारण देशका ४० जिल्ला ‘रेड अलर्ट’ को सूचीमा राखिएको छ। बंगालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी प्रणालीको नेपालमा पनि असर परिरहेको छ।

वर्षाको दर विस्तारै बढ्दै गएको र राति अझै बढ्न सक्ने भएकोले आज बेलुका र भोलिसम्मका लागि विशेष सतर्कता जरुरी रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

डुबान भइरहने र बाढी आउने क्षेत्रमा विशेष गरी नदी किनारमा यात्रा नगर्न मौसमविदले सुझाव दिएका छन् ।
विभागका अनुसार सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे लगायतका जिल्लामा बाढीको अति उच्च जोखिम छ ।
यस्तै काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र आसपासका जिल्लाहरुलाई पनि अति उच्च जोखिमको सूचीमा राखिएको छ ।
इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्लाहरुलाई बाढीको उच्च जोखिममा छन् ।
कास्की, लमजुङ, पर्वत, स्याङ्जा, तनहुँ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, दाङ, बाँके, बर्दियामा मध्यम जोखिमको सूचीमा राखिएको छ।


