
भैरहवा,२ कार्तिक। दुई दशक अघि भैरहवामा दीपावली (तिहार) पर्वको रौनक छुट्टै थियो । सहर नै आर्कषक देखिन्थ्यो । सहरको विभिन्न स्थानको घर अगाडी लगाइने केराको बोट, लिपिएको आँगन, पालामा बलेको दीपले पुरै घर आँगन नै उज्यालो हुन्थ्यो । सांस्कृतिक झल्किन्थ्यो । सहर मनमोहक देखिन्थ्यो । भैरहवा लगायत वरीपरी क्षेत्रमा सांस्कृतिक कार्यक्रमहरु आयोजना हुन्थ्यो ।
जहाँ आन्तरिक तथा बाह्य पर्यटक यहाँको दीपावली हेर्न झुम्मिन्थे । देउसी भैलो खेल्नहरु आगनमा आएपछि परिवारिक खुसी नै छुट्टै हुन्थ्यो (जुन अहिले पनि छ) । यहाँको दीपावली पर्वको तस्विर चर्चित क्यालेण्डरहरुमा प्रकाशित हुन्थे ।

तर, मुलुकमा अपराधिक क्रियाकलाप बढ्दैसँगै समाजमा बढ्दो त्रासले दीपावलीको चमक र रौनक भैरहवाले गुमाउँदै गएको जानकारहरु बताउँछन् ।
भैरहवाको त्यही दशकौं अघिको दीपावली (तिहार) को रौनकलाई आफ्नो स्मृतिमा कैद गरेका यहाँका युवा व्यवसायी रहिश खानले गुम्दै गएको भैरहवाको त्यो साखलाई फर्काउन निरन्तर लागेका छन् ।
साउण्ड र संगित (म्युजिक) क्षेत्रमा भैरहवाको ब्राण्डको रुपमा स्थापित भएको युनिक साउण्डका संचालक समेत रहेका उनी विगत ९ बर्षदेखि व्यक्तिगत लगानीमा दीपावली उत्सवका कार्यक्रम गर्दै आएका छन् ।
र, यस वर्षको तिहारमा पनि उनले कार्तिक ३ गते (भोली) साँझ भैरहवाको मिलनचोकमा युनिक दिपावली कार्यक्रमको आयोजना गरेका छन् । केही दिन अघिदेखि बैंक रोड, मिलनचोकको सडक क्षेत्र झिलीमिली पारिएको छ । जसले तिहारको अभास केही दिन अघिदेखि भएको छ । कार्यक्रमको तयारी पनि लगभग पुरा भएको छ ।
‘दीपावली (तिहार) हामी सबै नेपालीको पर्व र संस्कृतिक हो । यसको जर्गेना हामी सबैले गर्नुपर्छ’,उनले भने,‘आपसी सामाजिक सद्भाव र स्थानीय कलाकारको प्रबद्र्धनका साथै तिहारको अनुभूति गराउन एकल लगानीमा कार्यक्रम आयोजना गरेको हुँ ।’
कार्यक्रममा नृत्य, गायन लगायतका विभिन्न सांस्कृतिक कार्यक्रमहरु समावेश गरिनेछन् । जसले स्थानीय तथा नवकलाकारहरुलाई आफ्नो प्रतिभा प्रष्टफुटन गर्ने अवसर समते हुने बताइएको छ ।
आफुले गरेको कार्यक्रम एउटा कार्यक्रम मात्र नभई संस्कृतिकको जर्गेना गर्नुपर्नेका साथै भैरहवाको त्यही रौनकता साथको दिपावली (तिहार) मा फर्काउनमा सबैले आ-आफ्नो स्थानबाट भूमिका खेल्नुपर्ने सन्देश समेत दिन खोजिएको उनको भनाई छ ।
यस पटक पनि बिगतमा जस्तै स्थानीय कलाकार संगै राष्ट्रिय कलाकारको प्रस्तुती हुने आयोजकले जनाएको छ । तर, विगतका वर्षहरु जस्तै कलाकारहरुको नाम आयोजनक गरिएको पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छैन । र, कलाकारलाई सप्राईजको रुपमा सर्वसाधरण समक्ष प्रस्तुत गरिने बताइएको छ ।
कार्यक्रमको उद्योग व्यापार संगठन रुपन्देहीले सहजीकरण र समन्वय गरेको छ । कार्यक्रम सम्पन्न गर्न करिब १० लाख रुपैयाँ खर्च लाग्ने बताईएको छ । तिहार उत्सवमा भैरहवाका साथै अन्य क्षेत्रहरुहरुबाट पनि सहभागिता हुने आयोजकले अपेक्षा लिएको छ ।

