


भैरहवा,असोज २९। युनेस्कोको सल्लाहकार निकाय सम्पदा संरक्षण समाज (इकोमस) को बार्षिक सभा तथा ६० औं बर्षगाठ शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा मनाइएको छ।
असोज २५ देखि लुम्बिनीमा सुरु भएको बार्षिक सभाको मंगलबार समापन तथा ६० औं बर्षगाठ मनाइएको हो। विश्वसम्पदा स्थल तथा बुद्धजन्मस्थल लुम्बिनीमा महासभा र ६० औं बर्षगाठ लुम्बिनीमा मनाउन पाउनु निकै गर्वको बिषय भएको इकोमस नेपालका अध्यक्ष ज्ञानिन राईले बताए।

सन् १९६५ मा स्थापना भएको इकोमस ११७ देशमा राष्ट्रिय समिति, ३१ वटा बैज्ञानिक समिति र १३७ देशबाट १२ हजार ७१५ जना विज्ञ सदस्य रहेका छन्। अध्यक्ष राईका अनुसार महासभामा मानवताको हितका लागि सम्पदा संरक्षण, आध्यात्मिकता, पर्यटन प्रबद्र्धन र दिगो विकासका सवालमा महत्वपूर्ण छलफल भएको छ। वार्षिक महासभासँगै अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन समेत सञ्चालन हुनेछ।
इकोमस नेपालले संयोजन गरेको महासभा तथा अन्तरराष्ट्रिय वैज्ञानिक सम्मेलनमा बुधबारदेखि छलफल हुनेछ। मुुख्यगरी प्रकोप, द्धन्द र शान्तिका बिषयलाई केन्द्र बिन्दुुमा राखेर छलफल हुने इकोमस नेपालका कोषाध्यक्ष सृष्टिना श्रेष्ठले बताइन्।
विश्वभरका सांस्कृतिक सम्पदा संरक्षणसँग सम्बन्धित विज्ञहरु, अनुसन्धानकर्ताहरु तथा नीति निर्माताहरु, सरकारी अधिकारीहरु, अन्तर्राष्ट्रिय पाहुनाहरु सहित ६७ राष्ट्रका २ सय बढी विदेशी विज्ञहरु र नेपालीसहित ३ सय बढीको सहभागी रहेको आयोजकले जनाएका छन् ।

कार्यक्रममा नेपालका तर्फबाट साँस्कृति सम्पदा व्यवस्थापनमा सक्रिय ज्ञानिन राई, डा. काई वाईजे, एनी जोशी डा. ईनु प्रधान सालिके, सृष्टिना श्रेष्ठ, देवेन्द्र भट्टराई सहित ईकोमस ईन्टरनेश्नलका सचिवालय सदस्यहरुको मुुख्य भुमिका रहेको छ। महासभा तथा सम्मेलनमा २ सय भन्दा बढी विदेशी विज्ञ तथा सहभागीहरु रहेका छन्।
प्रस्तुतीकरण सहित विशेषज्ञ प्यानल, स्थलगत भ्रमण सहित विभिन्न बिषयमा नीतिगत छलफका सेसनहरु हुनेछन्। कार्यक्रमको लुम्बिनीबौद्ध विश्वबिद्यालय, लुम्बिनी विकास कोष, पुरातत्व विभाग, लुुम्बिनी सांस्कृतिक नगरपालिका, ओरियन्टीयल हेरिटेज साईट प्रोटेक्सन एलायन्स फ्रान्स, ब्रिटिश काउन्सिल, अष्ट्रेलिया इकोमस, इकोमस चाईना लगायतले साझेदारी गरेका छन्। सम्मेलन अक्टोबर १९ तारिख अर्थात कार्तिक २ गते समापन हुने बताइएको छ।

