
भैरहवा,३० असोज। शान्तिका अग्रदुत गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा ६७ देशका २ सय बढी सम्पदा विज्ञहरुको उपस्थितिमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु भएको छ। प्रकोप, द्वन्द्व र शान्ति विषयलाई केन्द्रबिन्दुुमा राखेर युनेस्कोको सल्लाहकार निकाय सम्पदा संरक्षण समाज (इकोमस) नेपालको आयोजनामा बुधबारदेखि वैज्ञानिक सम्मेलन सुरु भएको हो ।
सम्मेलनको लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले शुभारम्भ गरे। यसअघि अक्टोबर ११ देखि सुरु भएको इकोमसको वार्षिक सभाको समापन तथा वर्षगाँठ उत्सव मंगलबार सम्पन्न गरिएको थियो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

मन्त्री न्यौपानेले बुद्धजन्मस्थल लुम्बिनीमा विभिन्न देशका सम्पदा विज्ञहरुको उपस्थितिमा इकोमसको वार्षिकसभा र वैज्ञानिक सम्मेलन गरेकोमा धन्यवाद व्यक्त गरे। उनले शान्ति भूमि लुम्बिनीमा गरिएको सम्मेलनले विश्वभर नै नयाँ सन्देश दिन सफल हुने विश्वास व्यक्त गरे।
शुभारम्भ कार्यक्रममा इकोमस अन्तर्राष्ट्रियका अध्यक्ष प्राध्यापक टेरेशा प्याटिसियो, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्याहरक्याल लामा, युनेस्को नेपाल प्रमुख ज्याको दु टोयोट, सम्पदा विज्ञ कोष प्रसाद आचार्य, लुम्बिनी बौद्ध विश्वविद्यालयका निमित्त रजिष्टार डा. गितु गिरी, थाई विहार लुम्बिनीमा प्रमुख भन्ते फ्रा.राजबोधी सुफोथ, साँस्कृतिक सम्पदा विज्ञ काईवाईजे लगायले बोल्दै सम्मेलन मार्फत सम्पदा संरक्षणका उत्कृष्ट अभ्यासका अन्तर्राष्ट्रिय मापदण्डहरु निर्माणमा अग्रणी भूमिक खेल्ने विश्वास व्यक्त गरे।
इकोमस नेपालका अध्यक्ष ज्ञानिन राईले सम्मेलनमा सहभागी अतिथि तथा विज्ञहरुलाई स्वागत गर्दै बुद्धजन्मस्थल लुम्बिनीमा गरिएको वैज्ञानिक सम्मेलनले सांस्कृतिक सम्पदाको संरक्षण एवम् सुधारमा महत्वपूर्ण काम गर्ने विश्वास व्यक्त गरे।
युनेस्कोको सल्लाहाकार निकायको रुपमा रहेको इकोमसले विश्व सम्पदा सूचीमा अभिलेखको लागि प्रस्तावित सांस्कृतिक र मिश्रित सम्पदाहरुको मूल्याङ्कन गरी विश्व सम्पदा समितिलाई प्रदान गर्ने गर्दछ। कार्यक्रममा इकोमस इन्टरनेश्नलका सदस्यहरु सहित विश्वभरका सांस्कृतिक सम्पदा संरक्षणसँग सम्बन्धित विज्ञहरु, अनुसन्धानकर्ताहरु तथा नीति निर्माताहरु, सरकारी अधिकारीहरु, अन्तर्राष्ट्रिय पाहुुनाहरु सहित ६७ राष्ट्रका करिव ३०० स्वदेशी तथा विदेशी सहभागीहरु छन्।
सम्मेलनमा विभिन्न विषयहरुमा प्राप्त २६० कार्यपत्रमध्ये छनोटमा परेका १९० वटा कार्यपत्रहरुको प्रस्तुतीकरण सहित छलफल हुने जनाइएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको केन्द्रीय कार्यालयमा भइरहेको सम्मेलनमा प्रकोप, द्वन्द्व र शान्तिसँगै सम्पदा संरक्षणका सन्दर्भमा विभिन्न सेसनहरुमा छलफल हुनेछ।
कार्यक्रममा नेपालका तर्फबाट साँस्कृति सम्पदा व्यवस्थापनमा सक्रिय ज्ञानिन राई, डा. काई वाईजे, एनी जोशी, डा. ईनुु प्रधान सालिके, सृष्टिना श्रेष्ठ, देवेन्द्र भट्टराई सहित ईकोमस ईन्टरनेश्नलका सचिवालय सदस्यहरुले विभिन्न प्रस्तुती राख्नेछन्। प्रस्तुतीकरण सहित विशेषज्ञ प्यानल, स्थलगत भ्रमण गरी सम्मेलन अक्टोबर १९ तारिखमा घोषणापत्र जारी गरेर समापन गरिनेछ।
कार्यक्रमको लुम्बिनी बौद्ध विश्वबिद्यालय, लुम्बिनी विकास कोष, पुरातत्व विभाग, लुुम्बिनी सांस्कृतिक नगरपालिका, ओरियन्टीयल हेरिटेज साईट प्रोटेक्सन एलायन्स फ्रान्स, ब्रिटिश काउन्सिल, अष्ट्रेलिया इकोमस, इकोमस चाइन लगायतले साझेदारी गरेका छन्।

