
काठमाडौं,२० कार्तिक। कतार एयरवेजले हङकङको क्याथे प्यासिफिक एयरवेजमा रहेको सबै सेयर विक्री गरेर बाहिरिने भएको छ ।
कतार एयरवेज कतारको सरकारी वायुसेवा कम्पनी हो भने क्याथे प्यासिफिक हङकङको सरकारी वायुसेवा कम्पनी हो ।
Advertisement

Advertisement
Advertisement

बेलायती समाचार संस्था रोयटर्सका अनुसार कतार एयरवेजले क्याथे प्यासिफिकमा रहेको ६ अर्ब ९७ करोड हङकङ डलर (८९ करोड ७० लाख अमेरिकी डलर) बराबर सेयर बेचेर बाहिरिने निर्णय गरेको हो ।
क्याथेमा लगानी गरेको आठ वर्षपछि कतारले आफ्नो सबै सेयर बेचेर बाहिरिने निर्णय गरेको हो। क्याथेमा कतारको ९.७ प्रतिशत सेयर छ ।
कतारको सेयर क्याथे आफैँले खरिद गर्न लागेको हो। क्याथेले प्रतिसेयर १०.८३ हङकङ डलरका दरले कतारको सबै सेयर खरिद गर्ने छ। यो मूल्य पछिल्लो पटक भएको कारोबार अनुसार हो। जुन ४ प्रतिशत छुट हो ।
कतार एयरवेजले नोभेम्बर २०१७ मा क्याथेको सेयर खरिद गरेको थियो । कतार क्याथेको तेस्रो ठुलो साझेदार हो। क्याथेको पहिलो ठुलो साझेदार स्वायर प्यासिफिक र दोस्रो ठुलो साझेदार चीनको सरकारी वायुसेवा कम्पनी एयर चाइना हो ।
क्याथेले कतारको सेयर फिर्ता लिन सालाखाला ३५ प्रतिशत प्रिमियम थप्ने जनाएको छ। यो रकम आन्तरिक स्रोत र रेटिङ एजेन्सीले दिएको विद्यमान कर्जा सीमामा रहेर जुटाउने जनाएको छ ।

